लोकतन्त्रको स्थायित्वका लागि एमाले र काँग्रेसको सत्ता सहकार्य भयो : महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले र काँग्रेस बीच सत्ता सहकार्य भएको बताउनुभएको छ । प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्र माथि नै प्रश्न उठ्न थालेको भन्दै लोकतन्त्रलाई बलियो बनाउन एमाले र काँग्रेस मिल्नुपरेको दाबी गर्नुभयो ।
‘राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामाथि नै अविश्वास पैदा हुँदै गयो ।’ महासचिव पोखरेलले भन्नुभयो,‘त्यसको अन्त्य गर्न चुनावी संविधान संशोधन गर्न आवश्यक छ । एक्लै नसकिने भएकाले काँग्रेसको साथ खोजिएको हो ।
’ महासचिव पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताउनुभयो । सरकार बनाउँदा साना दलले गर्ने बार्गेनिङका कारण सरकार अस्थिर हुने बताउँदै पोखरेलले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिँडेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्