भैसेडीमा करोडको प्रि–स्ट्रेस कङ्क्रिट पुल

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नं. ५ स्थित हिमा नदी माथि दुर्गम भैसेडीमा पक्की पुल निर्माण गरिएको छ ।
दुर्गम कनकासुन्दरीका सुन्दरी बस्तीलाई यातायातको पहुँचमा पुर्याउन पूर्वाधार विकास कार्यालय जुम्लाले नयाँ प्रविधिको (प्रि–स्ट्रेस कङ्क्रिट पुल) भैसेडीमा पक्की पुल निर्माण गरेको हो ।
हिमाली क्षेत्रमा निकै जोखिमयुक्त मानिने प्रि–स्ट्रेस कङ्क्रिट पुलको निर्माण गर्न पूर्वाधार विकास कार्यालय जुम्ला सफल भएको छ । यस्तो प्रकृतिको पुल निर्माण निकै सावधानी नअपनाए अन्तिममा पुल चर्किने समस्या देखा पर्छ ।
तर पूर्वाधार विकास कार्यालयको नियमित निरीक्षण निगरानी तथा स्थानीय सडक पुल इकाईका प्राविधिक तथा सामाजिक सुरक्षा अधिकारी परमानन्द चौधरीको सक्रियतामा मापदण्ड र स्टमेटनुसार पुल निर्माण सम्पन्न भएको हो ।
गाउँ गाउँमा सडक पुगेपनि पुल नहुँदा कनकासुन्दरी वडा नंं. ४ र ५ का नागरिक यातायात सेवाबाट वञ्चित थिए । भने झुलंगे पुलकै साहारामा आवतजावत गर्नुपर्ने बाध्यता थियो । भैसेडीमा पक्की पुल निर्माण भएपछि दुर्गम गाउँलाई पालिकाको केन्द्रसँग जोड्न र स्थानीयको दैनिकी समेत सहज बन्दै जाने अपेक्षा गरिएको छ ।

दुर्गम भैसेडीमा विभिन्न जटिलताका बीच पक्की पुल निर्माण कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख पदम देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो,‘विभिन्न चुनौतीका बीच पुल सम्पन्न भएको छ । अब आवतजावतमा सहज हुने अपेक्षा छ । पुलको दुई साइटमा आरसिसी गर्ने हालको टेन्डरबाट नभएको र नयाँ टेण्डर गरी आरसिसी गर्ने तयारी छ ।’
पुलको लागत अनुमान भने चार करोड ६१ लाख ६३ हजार ९७३ रुपैयाँको गरिएपनि पुल निर्माणका लागि भ्याट सहित कूल चार करोड ३२ लाख ६३ हजार ९७३ रुपैयाँमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
पुल निर्माणको जिम्मा ए.डी,बिल्डर्स बौद्ध ७ काठमान्डुले लिएको थियो । ०७९ असार २९ गते कार्य सम्झौता भई ०८१ असार २५ गते काम सम्पन्न गर्नुपर्ने सम्झौता बमोजिम निर्माण व्यवसायीले समयमै काम सकाएको छ ।








प्रतिक्रिया राख्नुहोस्