ओझेलमा १२ बण्ड १८ खण्डको रामारोसन ताल
कालिकोट । अछाम जिल्लाको रामारोसन गाउँपालिका–५ मा रहेको रामारोसन ताललाई १२ बण्ड १८ खण्ड ताल भनेर चिनिन्छ । अछामको पूर्वी उत्तर र कालीकोटको पश्चिम क्षेत्रमा पर्ने रामारोसन क्षेत्र समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार सात सय ९२ मिटर उचाइमा पर्दछ ।

पर्यटनको प्रचुर सम्भावना बोकेको अछामको रामारोशन क्षेत्रमा १२ ताल र १८ वटा खण्ड छन् । तीमध्ये संरक्षणको अभावमा १० वटा सुकिसकेका छन् ।
यस क्षेत्रको प्रमुख पर्यटकीय क्षेत्र मानिएको उक्त तालको आवश्यक संरक्षण, संवर्द्धन र उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको रामारोसन–५ अमर साउदले बताउनुभयो ।
यहाँका प्रमुख तालमा जिगल्ले, बाटुल्ला, लामिदह, लिस्सेडाली, ताउले, तल्लो धउने, माथिल्ला धउने, गाग्रे, डउठेखाल, दल्याना, रामे र गेराहा रहेका वडाध्यक्ष केशरबहादुर शाहले बताउनुभयो । उहाँका अनुसार तल्लो धउने, माथिल्लो धउने र लिस्सेडाली सुक्दै गइरहेका छन् ।
अछाम जिल्लाको उत्तरमा अवस्थित रामारोशन क्षेत्र प्रकृति प्रेमीका लागि सुन्दर र रमणीय रहेको भन्दै कालिकोटबाट रामारोसन जोड्ने पर्यटकीय सडक निर्माण भइरहेको कालीकोट नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताउनुभयो ।
बाह्र तालमध्ये रामे, लामोदय, ताउल्या, जिङगल्या, गाग्रा र १८ खण्डमध्ये किनीमिन्नी मैदान फाँट र रामारोशन मैदान फाँट अन्यभन्दा आकर्षित र मनमोहक रहेका रामारोसन–५ का खड्क रोकायाले बताउनुभयो ।
अहिले रामारोसन ताल छेउमा केही होटेल व्यवसाय सञ्चालन भइरहेकाले विगतको भन्दा बढी पर्यटक आउने गरेका गाउँपालिकाका पूर्व उपाध्यक्ष सरस्वती रावलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्