तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक : जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा डेंगी रोग नियन्त्रण तथा रोकथामको लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ ।

बैठकमा सांसदहरु कुसुमदेवी थापा, सपना राजभण्डारी, सिता मिजार र लीलादेवी बोखिम लिम्बुको समर्थनमा सांसद प्रतिमा गौतमले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुभएको हो ।

जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुहुँदै सांसद प्रतिमा गौतमले देशैभर डेंगीको प्रकोप तीव्र रुपमा फैलिरहेको र गम्भीर जनस्वास्थ्य संकट उत्पन्न भएको बताउनुभयो ।

सांसद गौतमले स्वास्थ्य संस्थाहरूमा गम्भीर अवस्थाका डेगीं सङ्क्रमितहरूको सङ्ख्या बढ्दै जाँदा समाजमा डर र त्रास बढ्दै गएकोले यसको प्रभावकारी नियन्त्रण र रोकथामको लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।

बैठकमा प्रस्तावमाथिको छलफलमा भाग लिने सांसदहरुले डेगीं संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा प्रणाली विस्तार गर्न र आम नागरिकमा जनचेतना बढाउन आवश्यक रहेको बताउनुभयो ।

सांसदहरुले डेगीं संक्रमण ७३ जिल्लामा फैलिएको पाइएकोले तीनै तहका सरकारले उच्च सक्रियता र संवेदनशील भएर रोकथाम तथा नियन्त्रणका चुस्त कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले डेंगी नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा कार्यदल गठन गरी सबै प्रदेश र स्थानीय तहमा द्रुत प्रतिकार्य टोली परिचालन गरिएको बताउनुभयो ।

स्वास्थ्य मन्त्री पौडेलले निजी तथा सरकारी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सङ्क्रमणको उपचारका बारे अभिमुखीकरण गरिएको, अस्पतालहरूमा डेगीं किट वितरण तथा संक्रमण उच्च रहेका जिल्लाबाट बिरामीहरूको रक्त नमूना सङ्कलन गरी सङ्क्रमणको प्रजाति बारे अध्ययन भइरहेको पनि बताउनुभयो ।

स्वास्थ्य मन्त्री पौडेलले डेंगी संक्रमण प्रतिकार्यका तत्काल तथा दीर्घकालीन प्रतिकार्यका योजना तथा नीति निर्माणको पक्रिया अघि बढाइएको पनि संसदमा जानकारी दिनुभयो ।

यस्तै आजको प्रतिनिधि सभाको बैठकले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८१ माथि विचार गरियोस् भनी राख्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत भएको हो ।

बैठकमा विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका जिज्ञासाहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले कर्जामा सहज पहुँच वृद्धि गर्न र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाई सुरक्षित आर्थिक कारोबारलाई विस्तार गर्न विधेयक संशोधन आवश्यक रहेको बताउनुभयो ।

यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले संसदमा सांसदले नै बिचौलियालाई घुस दिएको प्रकरणको तत्काल छानविन गर्न आवश्यक निर्देशन दिएको बताउनुभयो ।

बैठकमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै मन्त्री लेखकले पूर्व भूमिसुधार सहायक मन्त्री रामचन्द्र रायको हत्यामा संलग्न व्यक्तिको पहिचान र अनुसन्धानका लागि केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीको प्राविधिक जनशक्ति सहितको टोलीले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले यस वर्षको मनसुन सुरु भएपछि प्राकृतिक विपद्का घटनामा परि १ सय ३० जनाको मृत्यु भएको र ४८ जना अझै बेपत्ता रहेको सदनलाई जानकारी गराउनुभयो ।

गृहमन्त्री लेखकले हालसम्म बाढि पहिरोका कारण ४ हजार भन्दा बढी परिवार विस्थापित भएको र १ हजार ५९ परिवारलाई सुरक्षित स्थानमा सारिएको पनि बताउनुभयो ।

यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सरकारले चालु खर्च घटाउँदै बजेटलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने, सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त बनाई भ्रष्टाचारमुक्त बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले कैलालीको धनगढीमा अस्पताल बनाउने भनेर स्थानीय निकायमा झुटो विवरण पेश गरी चर्च बनाउनेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले भ्रष्टाचारका फाइल खोली दोषीलाई कडा कारबाही गर्नुपर्ने, बाढी पहिरोका कारण अवरुद्ध भएका सडक, भत्किएका पुललाई तत्काल पुर्ननिर्माण गरी यात्रालाई सहज बनाउन सरकारसँग माग गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक साउन १३ गते आइतबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button