सशस्त्र प्रहरी पर्साद्वारा ३४ करोड २७ लाख बढीको तस्करीको सामान बरामद
वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले गत आर्थिक बर्ष ०८०/०८१ मा ३४ करोड २७ लाख ७८ हजार ३१३ रुपैयाँ बराबरको तस्करीको सामान बरामद गरेको जनाएको छ ।
गणले सार्वजनिक गरेको एक वर्षको प्रगति विवरण अनुसार सशस्त्र प्रहरी राजस्व गस्ती टोलीले वीरगन्ज भन्सार कार्यालयमा १४ करोड ८९ लाख ४८ हजार ५५६ रुपैयाँ बराबरको तस्करीको सामान तथा राजस्व अनुसन्धान पथलैयामा १९ करोड १६ लाख ९६ हजार ९७५ रुपैयाँ मूल्य बराबरको सामान बरामद गरि बुझाएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिनुभयो ।
त्यस्तै प्रतिबन्धित गाँजा २२६ किलो ४३५ ग्राम, चरेश १ किलो दुई सय ग्राम, डाइजपाम ९६९ पिस, फेनार्गन ८७९ पिस, नुर्फिन ९९७ पिस, नाईट्रोभेट २४८ पिस, नीट्राजेपाम ४४ पिस, ओनोरेक्स ८३ बोतल, ब्राउन सुगर चार किलो ३७ ग्राम, र ट्रामाडोल १५ हजार २६ पिस बरामद गरेको छ ।
अवैध काठ ४० लाख ९३ हजार ३५५ रुपैयाँको १ हजार पाँच सय ५४ क्युफिट बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिनुभयो । यो एक वर्षको अवधिमा सशस्त्र प्रहरीले ७९ जना व्यक्ति विभिन्न सामानसहित पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले उपलब्ध गराएको विवरण अनुसार लागूऔषध सहित २६ जना, नगद रुपैयाँ सहित १५ जना, अवैध निकासी पैठारीका सामान सहित १९ जना, चेलीबेटी बेचबिखनमा संलग्न १५ जना, बालुवा र ट्र्याक्टरसहित १ जना र अवैध काठ सहित ३ जना गरी ७९ जना पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीले एक वर्षको अवधिमा नेपाली र भारतीय रुपैयाँ नगद पनि बरामद गरेको जनाएको छ । ६० लाख ३० हजार ९८५ रुपैयाँ नेपाली र १४ लाख ७४ हजार ४८० भारतीय रुपैयाँ नगद पनि बरामद गरेको सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्