झापामा कोशी प्रदेश सरकारको ८० प्रतिशत बजेट खर्च
झापा । झापामा आर्थिक वर्ष २०८०/०८१ मा कोशी प्रदेश सरकारमार्फत प्राप्त बजेटको ८० प्रतिशत मात्र खर्च भएको पाइएको छ ।
प्रदेश सरकारबाट चालुतर्फ १ अर्ब ४१ करोड १७ लाख ९२ हजार दुई सय तथा पुँजीगततर्फ ३ अर्ब १७ करोड ४० लाख ११ हजार गरी ४ अर्ब ५८ करोड ५८ लाख ३ हजार दुई सय रुपैयाँ प्राप्त भएकोमा ३ अर्ब ७० करोड ७७ लाख ६५ हजार ६६४ रुपैयाँ मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक इकाई कार्यालय भद्रपुरका प्रमुख कुलप्रसाद गुरागाईँले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार चालुतर्फ १ अर्ब १६ करोड ८८ लाख ४६ हजार ६५६ रुपैयाँ ३६ पैसा खर्च भएको छ भने पुँजीगततर्फ २ अर्ब ५३ करोड ८९ लाख १९ हजार ८ रुपैयाँ ३६ पैसा खर्च भएको प्रदेश गुरागाईँले जानकारी दिनुभयो ।
झापामा सबैभन्दा धेरै बजेट पूर्वाधार विकास कार्यालय झापाले २ अर्ब १४ करोड ७६ लाख ५० हजार प्राप्त गरेकोमा १ अर्ब ५७ करोड ७० लाख ६८ हजार ६०७.४४ मात्र खर्च गरेको छ ।
झापाका १५ वटा स्थानीय तहलाई ५६ करोड ६७ लाख ५४ हजार बजेट आएकोमा ६ करोड ५ लाख ४ हजार ९१५.६० रुपैयाँ खर्च नभई फिर्ता गएको देखिन्छ । सबै पालिकाले खर्च विवरण पठाइ नसकेका कारण यो रकम अझ बढ्न सक्ने कार्यालय प्रमुख गुरागाईँले बताउनु भयो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाले ५२ करोड १२ लाख ७४ हजार बजेट प्राप्त गरेकोमा ५१ करोड १४ लाख ७ हजार ४२३.३७ पैसा मात्र खर्च गरेको छ । यस्तै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय झापाले ३४ करोड ६ लाख ४३ हजार बजेट प्राप्त गरेकोमा ३० करोड ८० लाख ६९ हजार ७८५.३६ पैसा खर्च गरेको छ भने मेची प्रादेशिक अस्पताल भद्रपुरले २१ करोड ६८ लाख ९९ हजार बजेट प्राप्त गरेकोमा १६ करोड ७० लाख ४९ हजार ५९८.७६ पैसा खर्च गरेको छ । यसैगरी, कनकाई सिँचाई व्यवस्थापन कार्यालयले ११ करोड ९७ लाख ४४ हजार रकम पाएकोमा ११ करोड ३९ लाख ६१ हजार ५७९ रुपैयाँ ४५ पैसा खर्च गरेको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्