तपाईँ सुन्दै हुनुहुन्छः

बङ्गलादेशबाट ३४० नेपाली विद्यार्थी काँकडभिट्टा हुँदै नेपाल आइपुगे

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै तीन दिनमा ३४० जना नेपाली विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् । बङ्गलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किन थालेका हुन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बिहीबार ८५, शुक्रबार ११४ र शनिबार १४१ जना नेपाली विद्यार्थी स्वदेश फर्किएको जानकारी दिनुभयो । नेपाली विद्यार्थीसँगै बङ्गलादेशमा अध्ययनरत माल्दिभ्सकी एक छात्रासमेत काँकडभिट्टा नाका भएर नेपाल आएको उहाँले बताउनुभयो ।

बङ्गलादेशमा हिंसात्मक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीले त्यहाँ बस्नुभन्दा स्वदेश फर्किनु उचित सम्झेर परिवारसँग सम्पर्क गरिरहेको अध्यागमन प्रमुख पनेरुले बताउनुभयो ।

बङ्गलादेशमा इन्टरनेट सेवा बन्द गरिँदा ‘वाट्स एप’, ‘मेसेन्जर’ लगायत सामाजिक सञ्जालका साथै मोबाइल एप्लिकेसनबाट सम्पर्क स्थापित गर्न नसकिएको अभिभावकहरूले बताउने गरेका छन् ।

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीलाई ढाकाबाट हवाई मार्ग हुँदै सीधै काठमाडौँ अवतरण हुने र पूर्वीनाका काँकडभिट्टा हुँदै स्थलमार्गबाट नेपाल आउने दुई सजिला विकल्प रहेका छन्

चिकित्सा शिक्षा अध्ययनका लागि हजारौँ नेपाली विद्यार्थी बङ्गलादेशमा रहँदै आएका छन् । केही समययता बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण धेरै भएको भन्दै चलेको विद्यार्थी आन्दोलनले उग्ररुप लिएपछि नेपाली विद्यार्थीले असहज महसुस गरिरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button