क्यानलाई एआईको विषयमा कार्यपत्र ल्याउन सञ्चारमन्त्री गुरुङको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले क्यान महासङ्घलाई आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०को विषयमा कार्यपत्रसहित आउन आग्रह गर्नुभएको छ ।
आज मन्त्रालयमा क्यान महासङ्घका प्रतिनिधिमण्डलसँग भएको छलफलमा मन्त्री गुरुङले आवश्यक नीतिगत कुरा गर्न सरकार तयार भएको बताउनुभएको समेत जानकारी दिनुभयो ।
“आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा कार्यपत्र लिएर आउनोस्, आवश्यक नीतिगत कुरा गर्न सरकार तयार छ”, मन्त्री गुरुङले भन्नुभयो । उहाँले छलफलका क्रममा सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिलाई मुलुकको समृद्धिको आधार बनाउने विषयमा जोड दिनुपर्ने बताउनुभएको छ ।
मन्त्री गुरुङका अनुसार यसका लागि सरकारले सबैको सहयोगको अपेक्षा गरेको बताउनुभएको छ ।
क्यान महासङ्घका अध्यक्ष रणजीतकुमार पोदारको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा छलफल गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले यस्तो धारणा राख्नुभएको हो ।
मन्त्री गुरुङले सूचनाको क्षेत्रमा आएको क्रान्ति र आर्टिफिसियल इन्टेलिजेन्सको सुरुआतले निम्त्याउने चुनौतीको समेत दृष्टिगत गरी सरकारले आफ्नो नीतिगत सुधार र व्यवस्थापनको काम अघि बढाउने जानकारी दिनुभएको हो ।
छलफलमा मन्त्री गुरुङले आफूले पद बहालीकै क्रममा डिजिटल नेपाल ‘फ्रेमवर्क’लाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनः संरचना गर्न कार्यदल गठनको निर्णय लिएको स्मरण गर्नुभयो ।
यस्तै, उहाँले सरकार निजी क्षेत्रमैत्री रहेको र मुलुकमा सकारात्मक परिणाम निकाल्नका लागि सहकार्य गर्न चाहिरहेको उल्लेख गर्नुभयो ।
सो अवसरमा क्यान अध्यक्ष पोदार, महासचिव चिरञ्जीवी अधिकारीलगायतका पदाधिकारी हुनुहुन्थ्यो
। सो अवसरमा क्यान महासङ्घका अध्यक्ष पोदारले सूचना प्रविधि क्षेत्रका बजेटको कार्यान्वयन यसका प्रभावकारिताको विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्