तपाईँ सुन्दै हुनुहुन्छः

‘इकोली’ मिश्रित पानी पिउँदै जनता

रुकुम  । रुकुमपूर्वमा खानेपानीको कमसल संरचना निर्माण गर्नाले जिल्लाको खानेपानी व्यवस्थापन लथालिङ्ग अवस्थाका रहेको छ ।

खानेपानी योजनाको भौतिक संरचना निर्माण गर्दा कमजोर खालको अर्थात् मापदण्ड अनुसारको संरचना निर्माण गर्न नसक्दा उपभोक्ता दूषित पानी खान बाध्य छन् । खानेपानीका योजना निर्माण गर्दा निर्माण उपभोक्ता समिति र ठेकेदारले मापदण्ड अनुसार खानेपानीको संरचना निर्माण गर्न नसक्दा हाल उपभोक्ता दूषित पानी खादैँ आएका हुन्

मापदण्ड विपरीत भौतिक संरचनाको काम गर्ने समिति र ठेकेदारलाई कसैले पनि कारबाही नगरेपछि संरचना कमजोर खालका निर्माण गर्ने गरेको स्थानीयवासीको गुनासो रहेको छ । जसको कारण खानेपानी योजना छोटो समयमै जीर्ण अवस्थामा पुग्ने र खानेपानीको मूल र वितरण ट्याङ्की असुरक्षित भएपछि दूषित पानी खानु पर्ने बाध्यता रहेको भूमे गाउँपालिका–६ का मनजित रोकाले बताउनुभयो । “सरकारले खानेपानी योजनाका लागि बजेटको व्यवस्था गरिदिन्छ तर, उक्त बजेटले मापदण्ड अनुसारको संरचना निर्माण भयो कि भएनन् भने चेकजाँच नहुँदा खानेपानीका योजना छोटो समयमै लथालिङ्गको अवस्थामा पुग्ने गरेको छ ।” रोकाले बताउनुभयो ।

खानेपानीको भौतिक संरचना निर्माण मापदण्ड अनुसारको मुहानको सुरक्षित ट्याङ्की निर्माण हुन नसक्नु, पाइप जडान तथा गाड्नेमा लापरबाही र पानी वितरण ट्याङ्कीको राम्रोसँग सुरक्षित घेराबार नहुँदा खानेपानी दूषित भएको रोकाको भनाई छ । 

जिल्लाका अधिकांश स्थानीय बासिन्दाले दिसामा पाइने जीवाणु ‘इकोली’ मिसिएको पानी उपभोग गरिरहेको एक अध्ययनले देखाएको छ । जिल्लाका हाल प्रयोग भइरहेकोमध्ये अधिकांश पानीको स्रोत पिउन अयोग्य रहेको पनि अध्ययनले निष्कर्ष निकालेको छ । 

नमुनाका रूपमा रुकुम पूर्व जिल्लाको भूमे र सिस्ने गाउँपालिकाका ३२ ठाउँको खानेपानी परीक्षणका क्रममा इकोली जीवाणु भेटिएको स्वास्थ्य कार्यालय रुकुमपूर्वका सूचना अधिकारी निमप्रसाद गिरीले बताउनुभयो । ३२ ठाउँको खानेपानीको मुहान, ट्याङ्की, धारामा नमुना परीक्षणका क्रममा २२ ठाउँको पानीमा इकोली पुष्टि भएको गिरीको भनाई छ । अर्थात् परीक्षण गरिएको मध्येमा ६५ प्रतिशत ठाउँको पानीमा इकोली भेटिएको हो । हेर्दा सङ्लो देखिए पनि पानी परीक्षणका क्रममा इकोली भेटिएकोले निर्मलीकरण गरेर मात्र पानी उपभोग गर्नु पर्ने स्वास्थ्यकर्मीको भनाइ छ । 

बलियो र सुरक्षितका साथ मापदण्ड अनुसार संरचना निर्माण गरिएको खानेपानीको स्रोतमा भने इकोली भेटिएको छैन । जहाँ भौतिक संरचना लथालिङ्ग र कमजोर अवस्थाको छ त्याहाँका प्रायः सबै खानेपानीमा इकोली भेटिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button