पर्सा जिल्ला अदालतद्वारा एक वर्षमा ८ हजार ७४ मुद्दा फर्छ्यौट

वीरगञ्ज । पर्सा जिल्ला अदालतले आर्थिक वर्ष ०८०/८१ मा ८ हजार ७४ वटा अर्थात् ५६ दशमलव ९९ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । यो तथ्याङ्क गत आ.व. ०७९/८० भन्दा ९ दशमलव ३५ प्रतिशतले बढी हो । विगत ५ वर्षकै अवस्था नियाल्दा गत आर्थिक वर्ष ०८०/८१ मा सबैभन्दा बढी मुद्दा फर्छ्यौट भएको देखिन्छ ।
आ.व.०७६/०७७ मा जम्मा ४०.०२ प्रतिशत मुद्दा फर्छ्यौट भएकोमा आ.व.०७७/०७८ मा ४०.४४ प्रतिशत, आ.व.०७८/७९ मा ४६.०६ प्रतिशत र आ.व. ०७९/०८० मा १० प्रतिशतले बढेर ४७.६४ प्रतिशत मुद्दा फर्छ्यौट भएको जिल्ला अदालत पर्साको तथ्याङ्कले देखाएको छ ।
२ वर्ष नाघेका मुद्दा गत वर्षको तुलनामा झन्डै आधाले घटेको छ । गत आ.व.मा ९०८ वटा त्यस्ता मुद्दा रहेकोमा यस आ.व.मा ४४३ वटा २ वर्ष नाघेका मुद्दा छन् । तुलनात्मक रुपमा हेर्दा आ.व.०७६/०७७ मा यस्ता मुद्दा जम्मा २५२ वटा रहेपनि त्यस पछिका वर्षमा यो सङ्ख्या बढ्दो अवस्थामा रहेको थियो । आ.व.०७७/०७८ मा ६६७ वटा, आ.व.०७८/७९ मा ७७९ वटा र आ.व. ०७९/०८० मा ९०८ वटा २ वर्ष नाघेका मुद्दा रहेकोमा यस वर्ष यो सङ्ख्या घटेको हो ।
त्यस्तै १८ महिना देखि २ वर्ष भित्रका मुद्दाहरू क्रमशः आ.व.०७६/०७७ मा जम्मा ४७७ वटा, आ.व.०७७/०७८ मा ६७१ वटा, आ.व.०७८/७९ मा ४२६ वटा, आ.व. ०७९/०८० मा ८१२ वटा रहेकोमा आ.व.०८०/०८१ मा त्यो सङ्ख्या ४३१ ले घटेर ३८१ वटा मात्रै रहेका छन् ।
पर्सा जिल्ला अदालतको विगत ५ वर्षको तथ्याङ्क नियाल्दा मुद्दा दर्ताको सङ्ख्या बढेको तथा जिम्मेवारीमा सर्ने मुद्दाको सङ्ख्या भने घटेको देखिन्छ । सो आर्थिक वर्षमा फर्छ्यौट गर्न नसकिएका मुद्दाहरू अर्को आ.व.को जिम्मेवारीमा सर्ने गर्दछ । त्यसरी जिम्मेवारीमा सर्दै आएका मुद्दाहरू क्रमशः आ.व.०७६/०७७ मा जम्मा ३ हजार २०४ वटा, आ.व.०७७/०७८ मा ४ हजार १२ वटा, आ.व.०७८/७९ मा ४ हजार ९६८ वटा, आ.व. ०७९/०८० मा ६ हजार ४१५ वटा रहेकोमा त्यो सङ्ख्या ४५० ले घटेर आ.व.०८०/०८१ मा ६ हजार ८६५ वटा मात्रै रहेका छन् ।
त्यसैगरि जिल्ला अदालतमा मुद्दा दर्ता हुने क्रम पनि आ.व.०८०/०८१ मा बढेको तथ्याङ्कले देखाउँछ । गत आ.व.०७६/०७७ मा ३ हजार ४८५ वटा वटा नयाँ मुद्दा दर्ता भएकोमा आ.व.०७७/०७८ मा ४ हजार ३५० वटा, आ.व.०७८/०७९ मा ६ हजार ९२४, आ.व. ०७९/०८० मा ५ हजार ६९७ वटा रहेकोमा त्यो सङ्ख्या बढेर आ.व.०८०/०८१ मा ७ हजार ३०१ वटा नयाँ मुद्दा दर्ता भएका छन् । यो सङ्ख्या गत वर्ष भन्दा ६०४ वटाले बढिरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्