तपाईँ सुन्दै हुनुहुन्छः

त्रिशूली किनारमा बेपत्ताका परिवारद्वारा गृह सचिवसँग बिलौना

चितवन । यही असार २८ गते बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिराले दुई वटा यात्रुवाहक बस त्रिशूली नदीमा पुर्‍यायो । बसमा सवार यात्रुका अधिकांश आफन्त उक्त समाचार सुन्ने बित्तिकै घटनास्थल आइपुगेका थिए ।

उनीहरू विगत तीन दिनदेखि त्रिशूली किनारमा आफन्तहरूको खोजीमा सक्रिय छन् । उनीहरू बिहानदेखि साँझसम्म त्रिशूली किनारमै हुन्छन् । आफन्तलाई जीवितै पाउने आश मार्दै गरेका उनीहरूमा राज्यले सक्ने जति उद्धारमा जुटेन कि! भन्ने आशङ्का परेको छ ।

उर्लिएको त्रिशूलीको खोचमा आफन्त त परको कुरा दुई वटा बस नै अहिलेसम्म भेटिएका छैनन् । उनीहरूले खोजी कार्य छिटो गरिदिन अनुनय विनय गरिरहेका छन् । तीन दिनको खोजीले उल्लेख्य सफलता नमिलेपछि आज गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल घटनास्थल आइपुग्नुभयो । उहाँहरूलाई घटना स्थलमा रहेका बेपत्ता परिवारका सदस्यहरुले आफ्नो परिवारका सदस्यहरूको छिटो खोजी गरिदिन आग्रह गर्नुभयो ।

मामाको छोरो (भाइ) त्रिशूलीमा बेपत्ता भएपछि खोजीका लागि हेटौँडाबाट आउनुभएका नकुबहादुर थापाले अहिलेको तरिकाले बेपत्ताहरू भेट्टाउनै मुस्किल हुने भन्दै अरू विधि अपनाउन आग्रह गर्नुभयो । उहाँले गृह सचिवको टोलीसँग गुनासो गर्नुभयो, “उच्च प्रविधिको प्रयोग गरेर बेपत्ताको खोजी गरिदिनुहोस् ।”

रौतहटबाट भाइ खोज्न आउनुभएका मोहन दास अहिले पनि कतै भेटिन्छ की भन्ने आशमा नै हुनुहुन्छ । तीन दिनदेखि आएर नदी तिरै हेरेर मात्रै बस्नुपरेको बताउँदै उहाँले छिटोभन्दा छिटो बेपत्ताको खोजी गरिदिन अनुरोध गर्नुभयो ।

यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले दुई वटा बसमा सवार यात्रुहरूको खोजीमा तदारुकता देखाउन आग्रह गर्नुभयो ।

उहाँहरूको गुनासो सुनेपछि गृहसचिव अर्यालले उद्धारका लागि काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “छिटोभन्दा छिटो उद्धार सामग्रीहरु उपलब्ध गराउने विषयमा काम भइरहेको छ, चीन र भारत सरकारबाट पनि सामग्री उपलब्ध गराउने कुरा भएको छ।”

विपद् प्रतिकार्य योजना तयारी गरी काम भइरहेको बताउँदै उहाँले शवहरू पहिचान र मृतकका परिवारलाई राहत दिने एवं यहाँ उठेका कुरामा गृह मन्त्रालयले नेपाल सरकारलाई जानकारी गराउने बताउनुभयो । यहाँको वस्तुस्थिति प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराइने उहाँले बताउनुभयो ।

टोलीले घटनास्थलको स्थलगत अवलोकन र उद्धार कार्यबारे जानकारी लिएको थियो । हालसम्म घटनास्थलभन्दा तल नारायणी नदी किनारमा पाँच वटा शव फेला परेका छन् ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पहिचान खुल्नेमा भारतको बिहार बेतिया जिल्ला पश्चिम सम्पारण २२ का ४० वर्षीय सजाद अन्सारी, भारतकै जयप्रकाश ठाकुर, माडी नगपालिका वडा नम्बर १ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सितामणि बर्गिनिया जमुहवा बस्ने २८ वर्षीय ऋषि पल साह रहेका छन् ।

यही असार २८ गते बिहान ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ गई रहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१– नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए । ती दुई बसमा यात्रु चलानीका आधारमा ५१ जना यात्रु सवार भएको पुष्टि भएको थियो । तीमध्ये तीन जना पौडिएर उत्रिएका थिए । उनीहरू अवस्था सामान्य छ ।

उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना जुटिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button