तपाईँ सुन्दै हुनुहुन्छः

मोर्डन कन्या कलेजमा भानुजयन्ती

काठमाडौँ । मुलुकका पुराना साहित्यकारहरूले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको उन्नयनमा पुर्याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धा व्यक्त गर्नुभएको छ ।

भीमसेन गोलास्थित मोर्डन कन्या मल्टिपल कलेजद्वारा दुईसय ११औँ  भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकारहरूले आदिकविको तस्बिरमा माल्यार्पण गर्नुका साथै उहाँको योगदान र परिचय दिलाउने कविता वाचन गर्नुभयो ।

त्यस अवसरमा साहित्यकार शैलेन्द्र साकार, डा रामप्रसाद दाहाल, रामप्रसाद पन्त, कृष्ण बाउसे, निर्मल पराजुली, विदुर उप्रेती र कलेजका प्राचार्य सविन पोख्रेलले भानुभक्तका रचनाले नेपाली समाजलाई भाषाका माध्यमबाट एक सूत्रमा बाँध्न पुर्‍याएको योगदानको चर्चा गर्नुभयो ।

भानुभक्तले भाषिक एकीकरण नगरिदिएको भए संसारमा नेपाली भाषा आजको स्तरमा समृद्ध हुन सक्दैनथ्यो भन्दै उहाँहरूले नेपाली भाषालाई सरलता तुल्याएर आदिकवि सधैँ स्मृतिमा रहने बताउनुभयो । 

कार्यक्रममा भानु जयन्तीका अवसरमा कलेजद्वारा आयोजित कविता प्रतियोगीताका विजयी छात्रालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा छात्राहरू रेणुका कँडेल, शर्मिला कार्की, जमुना बस्नेत, युरिसा रिजाल र अनुपा भुजेलले पनि कविता वाचन गर्नुभयो । नेपालमा मात्र नभई नेपाली भाषी बसोबास रहेका प्रवासमा पनि आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button