दुई पार्टीबीचको सहमतिमा आशङ्का छ : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीचको सहमतिको औचित्य र आवश्यकताप्रति आशङ्का व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उहाँले संसद्भित्रका दुई ठूला दलबीच नयाँ सरकार गठन गर्ने भएको सहमति राष्ट्रिय सहमति नभएको जिकिर गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले अहिले संविधान परिमार्जन र संशोधनको आवश्यकता देखाएर सत्ता स्वार्थका लागि सहमति गरिएको आरोप लगाउनुभयो । “संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो, त्यो सहमति पत्र आएपछि खुल्ला तर आजको दिनमा संविधान जोगाउन यो सहमति भएको कम्तीमा पनि म र मेरो पार्टी स्विकार्न तयार छैन”, उहाँले भन्नुभयो, “हामीलाई आशङ्का छ । एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी आयो ?”
प्रधानमन्त्री दाहाललाई आफ्नो दलले विश्वासको मत दिने बताउँदै उहाँले राजनीतिक इमान छाडेर नेकपा (एमाले) सरकार परिवर्तनमा लागेको आरोप लगाउनुभयो । गृहमन्त्री लामिछानेले दुई ठूला दल एक ठाउँमा आउँदा शक्ति पृथकीकरणमा सङ्कट आउन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले देशमा प्राकृतिक विपत्ति परेका बेला सरकार गिराउने काममा राजनीतिक दलको मुख्य कार्यभार हुनु अशोभनीय भएको धारणा राख्नुभयो ।
उपप्रधानमन्त्री लामिछानेले सरकार परिवर्तनको माहोलबीच पनि रास्वपाका मन्त्रीहरू अन्तिमसम्म आफ्नो जिम्मेवारीमा डटेर लागिपरेका बताउनुभयो । उहाँले सहकारी रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित समितिमा नयाँ बन्ने सत्तागठबन्धन दलको बहुमत पुग्ने भएकाले आफूलाई दोषी प्रमाणित गर्नसक्ने आशङ्का व्यक्त गर्नुभयो ।
“भ्रष्टाचारका फाइल खोल्न थालेको २४ घण्टामा सरकार परिवर्तन गर्ने काम भयो, अब त तपाईँहरूको संसदीय समितिमा पनि बहुमत हुने भयो । मलाई मलाई ठग प्रमाणित गर्न आपत् पनि पर्दैन होला, गर्नुहोस् । यो देशमा कोही न कोही त जेल जानै पर्छ, सुरुआत मबाट गर्नुहोस् । म तयार छु तर सत्यबाट विमुख हुनेवाला छैन”, उहाँले भन्नुभयो ।
सभापति लामिछानेले रास्वपाले प्रतिपक्षका रूपमा सुशासन र समुन्नतिका विषयमा नयाँ सरकारले चाल्ने कदममा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्