तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० आषाढ) सभा समक्ष पेस गर्नुभयो ।

यस्तै बैठकले “जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले “जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यसअघि बैठकमा सांसदहरुले समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले देशका विभिन्न स्थानमा बाढीका कारण ठूलो जनधनको क्षति भएको, खासगरी सबैभन्दा बढी कञ्चनपुर र कैलालीमा पुगेको क्षतिका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै समयमै राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले अविरल वर्षाका कारण भएको क्षतिप्रति सरकार अनविज्ञ रहेको भन्दै मुलुकका विभिन्न भूभागमा  पुगेको क्षतिको विवरण यकिन गरी संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले चुरेको संरक्षण हुन नसक्दा तराइका विभिन्न जिल्लामा प्रत्येक वर्ष खेतीयोग्य जमिन डुबानमा परिरहेको भन्दै  समयमै चुरे संरक्षण गर्न सकिएन भने खेतीयोग्य जमिन मरुभूमिमा परिणत हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले वर्षाका कारण अवरुद्ध दूरसञ्चार सेवा, खानेपानी, बाटोघाटो लगायतका अत्यावश्यक सेवाहरू सुचारु गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक असार २७ गते बिहीबार दिउँसो ४ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button