तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले भेडेटार–रवि–राँके सडक अवरुद्ध

धनकुटा । लगातारको वर्षाको कारण पहिरो जाँदा भेडेटार–रवि–राँके सडक अवरुद्ध भएको छ । 

दुई दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण पहिरो खसेर सडकमा थुप्रिएपछि यातायात अवरुद्ध बनेको हो । साँगुरीगढी गाउँपालिकास्थित कुइभीर र ओढारे भीरमा पहिरो खसेको हो। पहिरोका कारण भेडेटार–राजारानी सडक खण्ड अवरुद्ध भएपछि सवारी साधन बीच बाटोमै रोकिएका छन् । 

चौबिसे गाउँपालिकाका विभिन्न स्थान तथा धनकुटा र तराई क्षेत्रमा जाने सवारी साधनहरू अलपत्र परेका हुन् । पहिरो हटाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज जीवन कार्कीले बताउनु भयो । अलपत्र परेका यात्रुलाई जेसीबीमार्फत सडक खुलाएर गन्तव्यतर्फ पठाउने प्रयास भइरहेको कार्कीले जानकारी बताउनु भयो । 

भेडेटारदेखि पाँचथरको रविसम्मको १०३ किमी लम्बाइको उक्त सडक भएर दैनिक दर्जनौँ सवारी साधन सञ्चालन हुने गरेका छन् । कालोपत्र गर्ने अन्तिम तयारीमा रहेको उक्त सडक वर्षातले प्रभावित बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button