तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा गहवामाईको दोस्रो रथयात्रा भव्य रुपमा सम्पन्न

वीरगंज । वीरगंजमा गहवामाईको दोस्रो रथयात्रा आज भव्य रुपमा सम्पन्न भएको छ । 

ऐतिहासिक गहवामाई मन्दिरको १२ औँ वार्षिकउत्सवको अवसरमा वीरगंजमा दोस्रो पटक रथयात्रा निकालिएको हो ।  

गहवामाई मन्दिरको प्राङ्गणबाट आज बिहान साढे ६ बजे प्रारम्भ भएको रथयात्रा घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया चौक, बिर्ता चौक, अलख्यामठ, आदर्शनगर चौक, महाविरस्थान गर्दै पुनः गहवामाई मन्दिरमा समापन भएको थियो ।  

रथ यात्रामा हिन्दु धर्म र संस्कृति झल्किने विभिन्न झाँकी सहित तराई–मधेशका प्रचलित लोकबाजा प्रस्तुत गरिएको थियो । 

रथयात्रामा सहभागी भक्तजनका लागि विभिन्न सामाजिक सङ्घसंस्थाले नगरका ठाउँ ठाउँमा चिसो पानी, सर्वत, लस्सी र जुस निःशुल्क वितरण गरेका थिए । 

रथयात्रामा बारा, पर्सा र छिमेकी मुलुक भारतबाट हजारौँको सङ्ख्यामा भक्तजनहरूको सहभागिता रहेको रथयात्रा समितिका अध्यक्ष श्याम पोखरेलले बताउनुभयो । 

उहाँले साँझ भजन किर्तन तथा अन्य सांस्कृतिक कार्यक्रमको आयोजना हुने जानकारी दिनुभयो । यसैगरी असार २४ गते बेलुका ५ बजे प्रसाद ग्रहण कार्यक्रम रहेको आयोजकले जनाएको छ । 

काठको रथमा यसपटक विभिन्न दाताहरूको सहयोगमा ३५ लाख मूल्यको करिब २८ केजी चाँदीबाट निर्मित डोलीमा गहवामाईको प्रतिमा राखिएको रथयात्रा समितिका अध्यक्ष पोखरेलले बताउनुभयो । 

उहाँले चाँदीको प्रतिमा बाहेक यसपटकको रथयात्रामा करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान रहेको बताउनुभयो । गतवर्षको रथयात्रामा ६० लाख सङ्कलन भएको मध्ये ४० लाख खर्च भएको र २० लाख बचत भएको अध्यक्ष पोखरेलको भनाई छ । 

यस्तै रथयात्रामा भक्तजनहरूको सहभागिता जनाउनका लागि वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्रका शिक्षण संस्थाहरू एक दिनका लागि बन्द गराइएको छ भने २ दिनसम्म माछा मासु तथा मदिरा विक्री वितरणमा रोक लगाइएको छ । 

वीरगंजलाई धार्मिक पर्यटन केन्द्र बनाउने उद्देश्यले विभिन्न समयमा महाआरती, रथयात्रा लगायतका कार्यक्रमहरू हुँदै आएको छ । 

सोही अनुरुप आज दोस्रो पटक रथयात्रा निकालिएको वीरगंज महानगरपालिका कार्यालयले जनाएको छ । गत वर्ष २०८० असार ५ गते पहिलोपटक वीरगंजमा रथयात्रा निकालिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button