तपाईँ सुन्दै हुनुहुन्छः

चालु आवको १० महिनामा धनुषाबाट ३६ हजार ६१ जना वैदेशिक रोजगारीमा गए

जनकपुरधाम । धनुषाबाट चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीमा ३६ हजार ६१ जना गएका छन् ।

वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम र मित्र धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा देशका ७७ वटै जिल्लाबाट गत आवमा ७ लाख ७१ हजार वैदेशिक रोजगारीमा गएकोमा चालु आव अहिलेको १० महिनाको अवधिमा मात्र साढे ७ लाख पुगेको जनाइएको छ ।

त्यस्तै यस पटक ८ लाखको हराहरीमा वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या पुग्ने अवस्था रहेको सामी परियोजनाका कार्यक्रम अधिकृत देवनारायण मण्डलले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीमा गएकाहरूले चालु आवको १० महिनामा मात्र ११ खर्ब ९८ अर्ब रयामिट्यान्स पठाउने काम गरेको र बाँकी रहेको दुई महिनामा करिब १ खर्ब आउने सम्भावना रहेको परियोजना संयोजक मण्डलले जानकारी दिनुभयो ।

देशमा रोजगारीको अवस्था नदेखेपछि युवाहरू अत्यधिक सङ्ख्यामा वैदेशिक रोजगारीमा जान थालेकाले अहिले वैदेशिक रोजगारीमा जानेहरूको प्रतिशतमा २० प्रतिशतले वृद्धि भई ७६.८ प्रतिशत पुगेको छ ।

सामी परियोजना धनुषाले वैदेशिक रोजगारीमा जाने मध्ये २६ हजार ९ सय १७ जनालाई हालसम्म सुरक्षित वैदेशिक रोजगारीको सम्बन्धमा परामर्श दिने काम गरेको कार्यक्रमका संयोजक सौरभ कर्णले जानकारी दिनुभयो ।

परियोजनाले काम गरेपछि जिल्लामा वैदेशिक रोजगारीको क्रममा ठगीमा परेका वा एजेन्टले रकम लिएकाहरूको ६ करोड ९० लाख ४२ हजार ४ सय रकम न्यायिक पहुँचमार्फत पीडितलाई उपलब्ध गराउने काम भएको संयोजक कर्णले जानकारी दिनुभयो ।

परियोजनाले यस अवधिमा ११७ जना नयाँ व्यक्तिगत मनोपरामर्श, २ सय ४० व्यक्तिगत मनोपरामर्शको फ्लोअप गर्ने र ८६ जनाको सफल भएर भएर समस्याको समाधान गरिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा मित्र धनुषाका अध्यक्ष रघुवीर रायले मुलुकमा बेरोजगारीको अवस्था भएकाले विदेश जानु युवाहरूको बाध्यता रहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित तथा भरपर्दो बनाउनमा सामीसहित मित्र धनुषाले प्रयास गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button