तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीको रुपा गाउँपालिकाको बजेट ४६ करोड ७६ लाख, कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकासमा जोड

पोखरा।कास्कीको रुपा गाउँपालिकाले चालु आर्थिक बर्ष भन्दा आउँदो आर्थिक बर्ष २०८१/०८२ को लागि करिब ३.७२ प्रतिशक कम बजेट प्रस्तुत: गरेको छ । गाउँपालिकाको आइतबार भएको १५ औँ गाउँ सभामा उपाध्यक्ष लालसुब्बा गुरुङले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४६ करोड ७६ लाख ८२ हजार रुपैयाँको बजेट प्रस्तुत: गर्नु भएको हो ।

उक्त बजेट चालु आर्थिक वर्षको भन्दा ३.७२ प्रतिशतले अर्थात् १ करोड ७२ लाखले कमी हो । कृषि, ऊर्जा, पर्यटनलाई प्राथमिकता दिएको बजेट ठुलो आकार भने चालु खर्चतर्फ विनियोजन गरिएको छ । चालुतर्फ ३१ करोड ९४ लाख ५७ हजार रुपैयाँ र पुँजीगततर्फ १४ करोड ८२ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष गुरुङले बताउनु भयो । आन्तरिकतर्फ चालु आर्थिक वर्षको अल्या ५ करोड ३० लाख रुपैयाँ र आन्तरिक आम्दानीतर्फ १ करोड ५६ लाख ५० हजार रुपैयाँ अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको वार्षिक बजेट संशोधित अनुमान रु ४८ करोड ५७ लाख ९५ हजार ७ सय ९२ रुपैयामात्र रहेकोमा जम्मा आय तर्फ ३१ करोड ९ लाख ५७ हजार ९ सय २७ रुपैयाँ गाउँपालिकाको सञ्चित कोषमा प्राप्त भएको बजेटमा उल्लेख छ । रुपा गाउँपालिकाले कुल लक्ष्यको हालसम्म ६४ दशमलव ०१ प्रतिशत बजेट खर्च गरी प्रगति गरेको छ । चालु खर्च तर्फ ३४ करोड २२ लाख १ हजार ३ सय ९४ रुपैयाँ व्यय अनुमान गरिएकोमा हालसम्म २० करोड ८८ लाख ३० हजार ३ सय ६८ रुपैयाँ खर्च भएको छ । त्यसै गरी पूँजीगत खर्च तर्फ १४ करोड ३५ लाख ९४ हजार ३ सय ९८ रुपैयाँ विनियोजन भएकोमा हालसम्म ८ करोड २४ लाख १ हजार ४ सय २० रुपैयाँ खर्च भएको छ । हाल सम्मको औसत वित्तीय प्रगति ५९ दशमलव ३६ प्रतिशत रहेको छ ।

आगामी आर्थिक वर्षका लागि संशोधन सहित अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान तर्फ ७ करोड ८९ लाख, नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड तर्फ ७ करोड १५ लाख, नेपाल सरकार ससर्त अनुदान तर्फ २० करोड ८८ लाख ७ हजार, नेपाल सरकार समपूरक अनुदान तर्फ १ करोड ४५ लाख, गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँड ४९ लाख ४ हजार, गण्डकी प्रदेश सरकार समपूरक अनुदान तर्फ ६० लाख, गण्डकी प्रदेश सरकार समानीकरण अनुदान तर्फ ९४ लाख ८ हजार, गण्डकी प्रदेश सरकार सशर्त अनुदान रकम ४० लाख, गाउँपालिकाको चालू आ. व को अल्या रकम रु ४ करोड र चालु आर्थिक वर्षको लागी आन्तरिक स्रोत अनुमान १ करोड ३० लाख व्यहोरिने भएको उपाध्यक्ष गुरुङले प्रस्तुत: गरेको बजेटमा उल्लेख छ ।

उक्त बजेटले कृषि, ऊर्जा र पर्यटन सहित. लगानी प्रवर्द्धन तथा औद्योगिक विकास, सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य क्षेत्रको विकास तथा सुदृढीकरण,भौतिक पूर्वाधार विकासमा जोड, डिजिटल र नवीन स्थानीय विकास, वातावरण संरक्षण, जलवायु परिवर्तन र विपद व्यवस्थापन, मानव संसाधन विकास र रोजगारी सिर्जना, सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय, पारदर्शी, सर्वसुलभ, समावेशी र प्रविधिमैत्री बनाई नागरिकको पहुँच अभिवृद्धि गर्ने क्षेत्रगत प्राथमिकता निर्धारण गरेको अध्यक्ष नवराज ओझाले बताउनु भयो ।

आर्थिक विकासको क्षेत्र तर्फ ३ करोड ८९ लाख ६२ हजार विनियोजन गरिएको छ भने विकास तथा पशु सेवा क्षेत्रको समष्टि विकासका लागि एकमुष्ट २ करोड ३२ लाख ६२ हजार बजेट विनियोजन गरिएको छ । “किसानको हात: गाउँपालिकाको साथ“ भन्ने मुल नाराका साथ पालिकाभित्र एक घर एक घार कार्यक्रम निरन्तरताको लागी ५२ लाख बजेट विनियोजन गरिएको हो । सामाजिक विकास तर्फ रकम २३ करोड ३० लाख ३८ हजार विनियोजन गर्दा शिक्षा क्षेत्रको लागि १६ करोड ९ लाख ३९ हजार विनियोजन गरिएको छ ।

सशर्त अनुदानको नमुना विद्यालय सहित पूर्वाधार क्षेत्रतर्फ रकम रु १० करोड ५० लाख बिनियोजन गरिएको छ भने रूपा गाउँपालिका, कास्कीको प्रशासकीय भवन निर्माणलाई आवश्यक बजेटको स्रोत सुनिश्चितता गर्दै आगामी आर्थिक वर्षको लागि १ करोड विनियोजन गरिएको छ । रुपा गाउँपालिका वडा नं १ र २ को मुख्य सडक शिवचण्डी मोटरबाटो पक्की बनाउनका लागि २ करोड ९० लाख विनियोजन गरिएको छ । रूपा गाउँपालिका, कास्कीको वडा नं १ को वडा कार्यालय जोड्ने सडकका लागि रु १ करोड ६० लाख विनियोजन गरिएको हो । गाउँपालिका स्थित रामकोट रामदी सडक खण्ड क्रमागत योजनाका लागि १ करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button