राष्ट्रिय सभामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक पेश
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ पेश भएको छ ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले उक्त विधेयक पेश गर्नुभएको हो ।
यसअघि बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसदहरुले विशेष समयमा बोल्दै छाउपडी गोठमा बस्ने महिलाहरूमाथि आक्रमण हुने गरेको भन्दै विभिन्न प्रथाका नाममा महिलामाथि भइरहेको हिंसालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले धर्म र संस्कारका नाममा छाउगोठमा बस्ने महिलाहरू बलात्कार भएर, सर्पले टोकेर, चिसो लागेर मर्नुपर्ने अवस्थाले संविधानको उल्लङ्घन भएको, महिलामाथि चरम यातना भएको भन्दै यस्ता कुरीति हटाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
सांसदहरुले नागरिकताबाट पाइरहेको वृद्ध भत्ता लिन राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने नियम ज्येष्ठ नागरिकलाई दुख दिने नियत भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले शिक्षा र स्वास्थ्य नेपालमा धेरै महँगो भएको, ट्राफिक प्रहरीले लुकेर सवारी चालकलाई कारबाही गर्ने प्रक्रिया नमिलेको, मनसुनजन्य विपतबाट हुने क्षतिलाई न्युनिकरण गर्न सरकारले पूर्ण तयारी गर्नुपर्ने लगायतका धारणा राख्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।







प्रतिक्रिया राख्नुहोस्