राप्तीको कहर, दर्जन बढी बस्ती जोखिममा
बाँके । मनसुन सुरु भए लगतै तटबन्ध भत्किएर राप्ती नदी बस्तीमा पस्न थालेपछि बाँके,राप्ती सोनारी -७ खल्ला झगडिया क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
बाँकेको राप्ती सोनारी ७ खल्ला झगडिया क्षेत्रमा राप्ती नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीतिर पस्न थालेपछि सो क्षेत्रका स्थानी बासिन्दा त्रसित बनेका हुन् ।
मनसुन प्रारम्भसँगै राप्तीसोनारी ७ फत्तेपुर,नरैनापुर र डुडुवा गाउँपालिकास्थित तटीय क्षेत्रका करिब दुई दर्जन भन्दा बढी गाउँका बासिन्दा उच्च जोखिममा रहेको राप्तीसोनारी गाउँपालिका–७ वडा अध्यक्ष राम लखन थारुले बताउनुभयो ।
‘राप्ती सोनारीको विसम्मवरपुर र पदनाहा गाउँ नजिक रहेको तटबन्ध राप्ती नदीले गत वर्ष भत्काएको थियो । सोही क्षेत्रबाट अहिले नदीले डुबान र कटान तीव्र पारेको छ,’ थारुले बताउनु भयो । नदी नियन्त्रण गर्ने तटबन्ध नभएका कारण बाढी आउनासाथ बस्तीमा पानी पस्ने खतरा बढेको उहाँले बताउनुभयो ।
जोखिममा रहेका बस्ती तथा घरपरिवारको सुरक्षाका लागि ‘जनताको तटबन्ध फिल्ड कार्यालय’लाई जानकारी गराए पनि चासो नदिएकाले राप्ती सोनारीको वडा नं ६ र ७ तथा नरैनापुरको ३,४,५,६ र डुडुवाको वडा नं १ को बस्ती डुबान र कटानको उच्च जोखिममा रहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले बताउनुभयो । ‘विसं २०७९ असोज २३ गतेको बाढीले २५ सय मिटर तटबन्ध र सडक भत्काएपछि बस्तीहरु जोखिममा रहेको शाहले बताउनुभयो ।
राप्ती नदीमा आउने बाढीका कारण अति जोखिम मानिएका राप्तीसोनारी– ७ को खल्लाझगडियामा तटबन्ध कार्यक्रम लागू गरी बाढी गाउँ पस्न नदिन पहल थालिएको इन्जिनियर राजन श्रेष्ठले बताउनुभयो । उहाँले भत्किएको तटबन्ध पुन निर्माणका लागि केन्द्रमा पटक पटक बजेट माग गरिए पनि बजेट नपाउँदा काम गर्न कठिन भएको गुनासो गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्