तपाईँ सुन्दै हुनुहुन्छः

रामगोपालपुर नगरपालिकाको बजेट: ४४ करोड ८७ लाख

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिकाले ११औँ नगर सभामा ४४ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । 

शुक्रबार रामगोपालपुर नगरपालिकाका अध्यक्ष रामदुलार साहले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ४४ करोड ८७ लाख २४ हजारको बजेट प्रस्तुत गर्नुभएको छ । 

नगरपालिकाले सामाजिक, आर्थिक विकास, पूर्वाधार विकासलगायतका क्षेत्रमा नीति तथा कार्यक्रम निर्माण गरेको छ । प्रस्तुत नीति तथा कार्यक्रममा  शिक्षा,स्वास्थ्य,कृषिमा आधुनिकीकरण , रोजगारीजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । 

अध्यक्ष साहले प्रस्तुत गर्नु भएको नीति कार्यक्रममा गरिब घर पहिचान परिचय पत्र वितरण गर्ने, कृषिलाई स्थानीय आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रुपमा विकास गरिने नीति ल्याएको छ । एक विद्यार्थी एक बिरुवा, एक विद्यालय एक बगैँचा कार्यक्रम सञ्चालन गरि सामुदायिक विद्यालयलाई हरित विद्यालयको रुपमा विकास गर्ने‘बालबालिकाको इच्छा: प्रविधिमैत्री शिक्षा’ कार्यक्रम मार्फत विद्यार्थीको सिकाई उपलब्धि वृद्धि गरी शैक्षिक गुणस्तर सुधार गर्न तथा प्रविधिमैत्री सिकाइ सहजीकरण गर्नका लागि विद्यालयमा डिजिटल  प्रविधिमा सेवा पुर्‍याइने नीति ल्याइएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवले गाउँपालिकाद्वारा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सबै क्षेत्र समेटेको प्रतिक्रिया दिनुभयो । उहाँले नगरपालिकाको बजेट पूर्ण कार्यान्वयन हुनेमा विश्वास व्यक्त गनुभयो ।

कार्यक्रममा नगरसभा सदस्यहरु, नगरपालिकाका कर्मचारीहरूलगायत स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button