चैते र बोरो धान खेतीप्रति मोरङका किसान आकर्षण बढ्दै

विराटनगर । कृषि ज्ञान केन्द्रले अनुदान दिएपछि चैते र बोरो धान खेतीप्रति मोरङका किसान आकर्षण बढ्न थालेको छ ।
कम लागतमा बढी उत्पादन हुने भएपछि जिल्लाको उत्तरी भेगमा चेते धान र दक्षिण भेगमा बोरो धान खेती विस्तार हुन थालेको छ ।
रंगेली र सुनवर्सी नगरपालिकाका किसानले धेरै क्षेत्रफलमा यो धान लगाउने गरेको ज्ञान केन्द्रले जनाएको छ ।
रंगेली नगरपालिका वडा नंं. ६ का किसान नारायण मण्डलले तीन बिगाहा क्षेत्रफलमा यो धान लगाउनुभएको थियो । एक हप्ताअघि पाकेको यो धान काटेर उहाँले भित्राई सक्नुभएको छ । अरू धानमा भन्दा बढी फाइदा हुने र उब्जाउ पनि त्यति नै हुने भएकाले सात ÷आठ वर्षदेखि आफूले यो धान लगाउँदै आएको उहाँले बताउनुभयो । धान काट्नका लागि मजदुरको समस्या हुने गरेकाले धान काट्ने मेसिन अनुदानमा दिन समेत ज्ञान केन्द्रलाई उहाँले आग्रह गर्नुभयो ।
माघ फागुनको चिसोमा रोपिने यो धान जेठ महिनाको अन्तसम्ममा उत्पादन हुने गर्दछ । एक बिगाहामा १ सय २० मनसम्म उत्पादन हुने यो धान खरिदका लागि व्यापारीहरू किसानको घर आँगनमा पुग्ने गर्दछन् ।

अर्का किसान महेन्द्रप्रसाद मण्डलले यस पटक पाँच बिगाहामा जग्गामा लगाइएको धान खेतीबाट राम्रो आम्दानी भएको बताउनुभयो । धान खेती गर्न थालेपछि वर्षको तीन बाली लगाउन सफल भएको १२ महिना खेतबारीमा अन्न उत्पादन हुने गरेको मण्डलको भनाई छ ।
त्यस्तै, रंगेली नगरपालिका– १ सगरदिनाका कर्णबहादुर थापाले व्यावसायिक रुपमा धान खेती गर्दै आउनुभएको छ । सयपत्री बिउ उत्पादक कृषक समूहका संस्थापक अध्यक्ष समेत रहनुभएका थापाले राम्रो आम्दानी हुने भएपछि तीन बिगाहा जग्गामा पुषा र सरनामती बासमती धान लगाउनुभएको छ । चैतको पहिलो हप्ता रोपिएको यो धान असारको दोस्रो साता सम्ममा काटिसकिने उहाँले बताउनुभयो । सिँचाइको सहज व्यवस्था भए यो क्षेत्रका किसानले वर्षमा तीन पटक धान बाली लगाउन सक्ने उहाँले बताउनुभयो ।
नेपाल सरकारले अनुदान दिन थालेपछि मोरङ जिल्लामा चेते र बोरो धानको क्षेत्रफल बिस्तार हुन थालेको छ । ८ वटा पालिकामा धान खेती विस्तारका लागि चेते धानमा प्रति कठ्ठा ५ सयका दरले अनुदान दिन थालेको ज्ञान केन्द्रका प्रमुख रामदेव सिंहले बताउनुभयो ।

वास्तविक किसान हो की हैन बुझेर ज्ञान केन्द्रले पटक पटक अनुगमन गर्दै धान लगाएको क्षेत्रफलको आधारमा स्थानीय पालिकाका वडा कार्यालयको सिफारिसमा जग्गाको लालपुर्जाको आधारमा चैते धान खेती बिस्तारका लागि अनुदान दिने गरेकाले सही किसानले अनुदान पाउने गरेको उहाँले बताउनुभयो ।
चैते र बोरो धानका लागि उन्नत जातको गुणस्तर बिउ नेपालमै उत्पादन भएकाले सो बिउ प्रयोग गर्न उहाँले किसानलाई आग्रह गर्नुभयो ।
जिल्लमा अहिले साढे २२ हजार हेक्टर क्षेत्रफलमा चेतै र बोरो धान खेती हँुदै आएको छ । त्यसैगरी ज्ञान केन्द्रले अनुदान दिएपछि मोरङ जिल्लामा हाइब्रिड जातको मकै खेती समेत विस्तार भएको प्रमुख सिंहले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्