तपाईँ सुन्दै हुनुहुन्छः

साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विपरीत धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तो सुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिनुहुँदै प्रधानमन्त्रीले धार्मिक गतिविधिका नाममा साम्प्रदायिकता फैलाउन खोज्ने व्यक्ति तथा समूहलाई प्रचलित कानुन बमोजिम कानुनी कारबाही हुने स्पष्ट पार्नुभयो।

सरकारले गृह मन्त्रालय र मातहत स्थानीय प्रशासनमार्फत धार्मिक तथा सामाजिक सद्भाव बढाउन केन्द्रीय स्तर तथा प्रादेशिक स्तरमा समेत छलफलका कार्यक्रम सञ्चालन गरिरहेको प्रधानमन्त्रीले जानकारी दिनुभयो । 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button