प्रशिक्षार्थी, प्रशिक्षकदेखि उद्यमी : जुत्ताचप्पलबाट मनग्य आम्दानी
बाँके। करिब ३ बर्ष अघि जुत्ता चप्पल बनाउने तालिमकी प्रशिक्षार्थी कोहलपुर २ बिकास नगरकी गीता बिक अहिले असल प्रशिक्षक मात्र हैन असल उद्यमी पनि बन्नुभएको छ ।

गीताले कोहलपुर नगरपालिकाबाट गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत २५ दिने जुत्ता चप्पल बनाउने तालिम लिनुभएको थियो। त्यही तालिमले नै उहाँलाई केही गर्ने आँट र साहस दियो । जसका कारण उहाँ अहिले सफल उद्यमी बन्नुभएको छ।

१२ कक्षा पास गर्नुभएकी गीतालाई कोहलपुर नगरपालिकाले तालिम पश्चात् केही कच्चा पदार्थ र एक थान मेसिन दिएको थियो । गीताले आफ्नो सीपलाई निरन्तरता दिँदै अहिले आफ्नै घरमा जुत्ता चप्पलको उद्योग सञ्चालन गरिरहनुभएको छ। एक जनालाई रोजगारी दिनुभएकी गीता मासिक ३० देखि ४० हजार आम्दानी हुने गरेको बताउनुहुन्छ।

उत्पादित जुत्ता चप्पल कोहलपुर र सुर्खेत पठाउने गरेको गीताले जानकारी दिनुभयो । उहाँ अहिले उद्यमी मात्र नभई प्रशिक्षकको रुपमा पनि परिचित हुनुहुन्छ। बाँकेको जानकी र खजुरा गाउँपालिकामा यसै विषयमा तालिमको प्रशिक्षकको जिम्मेवारीमा रही काम गरिरहेको पनि उहाँले बताउनुभयो । प्रशिक्षणबाट दैनिक ३ हजार पारिश्रमिक पाउने गरेको उहाँको भनाइ छ । अन्य सङ्घसंस्थाले पनि तालिमका लागि बोलाउने गरेको उहाँले बताउनुभयो ।

अब थप लगानी गरेर २ जना कालिगढ राखी उद्योगलाई थप परिष्कृत गर्ने योजना गीताको छ । कामप्रतिको विश्वास, लगनशीलता र निरन्तरता भए नेपालमै बसेर पनि केही गर्ने प्रशस्त आधार भएको गीताको बुझाई छ ।









प्रतिक्रिया राख्नुहोस्