विकास र राजनीतिलाई सँगै लैजानुपर्छ : एमाले उपाध्यक्ष पौडेल
रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकास र राजनीतिलाई सँगसँगै लैजानुपर्ने बताउनुभएको छ । उहाँले नेकपा (एमाले)का सबै नेता तथा कार्यकर्ता विकाससँग जोडिनुपर्ने बताउनुभयो ।
नेकपा (एमाले) रुपन्देहीको १०औँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको आज बुटवलमा आयोजित शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले जिल्लामा पार्टीलाई एकताबद्ध बनाइ जनतासँग जोडिएर काम गर्न निर्देशन दिनुभयो । अधिवेशनले पार्टीको जीवनमा नयाँ जोस सञ्चार गरेको बताउँदै सशक्त पार्टी निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वउपप्रधान तथा अर्थमन्त्री समेत रहनुभएका नेता पौडेलले रुपन्देहीको पार्टी पङ्क्तिलाई प्रभावकारी रुपमा परिचालन गरी हरेक विकास निर्माणमा निगरानी र खबरदारी गर्न आग्रह गर्नुभयो । उहाँले नयाँ नेतृत्वमा सम्भावनालाई साकार पार्ने, आन्तरिक एकता बलियो बनाउने, सङ्गठन सुदृढ, गतिशील, अनुशासित बनाउने जिम्मेवारी थपिएको बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले नेता तथा कार्यकर्ता उत्पादनसँग जोडिँदै राजनीतिमा क्रियाशील हुनुपर्ने बताउनुभयो । उहाँले नेता र जनप्रतिनिधिबिच तालमेल नहुँदा धेरै कामको उठान नभएकाले पार्टीका तर्फबाट तिनै तहका सरकारमा सहभागी जनप्रतिनिधिबिच तालमेल जरुरी रहेको धारणा राख्नुभयो ।
पार्टीकै पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टीको नीति तथा सिद्धान्तलाई जनताको जीविकोपार्जनसँग तारतम्य मिलाएर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले नयाँ नेतृत्वले थप कुशलतापूर्वक काम गर्नुपर्ने बताउनुभयो ।
यही जेठ २५ गते सम्पन्न जिल्ला अधिवेशनले यज्ञ गैरेको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी चयन गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्