धनुषामा विपत् पूर्वतयारी शुरु

जनकपुरधाम । यस वर्ष विगत वर्ष भन्दा बढी वर्षा हुने भएकाले वर्षापछिको बाढी सहितको विपतका सम्भावित घटनाहरूको विषयमा सजगता अपनाउनका लागि जिल्ला विपत् व्यवस्थापन समितिले विशेष सजगता अपनाउने भएका छन् ।
जिल्ला विपत् व्यवस्थापन समिति धनुषाले विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, पालिकाका फोकल पर्सन तथा विपतको समयमा काम गर्ने सुरक्षाकर्मी, नेपाल रेडक्रस, उद्योग वाणिज्य संघ, विदेशी दातृ निकाय तथा विभिन्न कार्यालयका कार्यालय प्रमुखहरूको सहभागिता विपतका पूर्व कार्य योजनाको विषयमा छलफल भएको छ ।
बैठकमा विभिन्न पालिकाहरूले विपतको लागि गरेको पूर्व तयारीको विषयमा जानकारी दिएका थिए भने सुरक्षा निकायले पनि विपतपूर्व कार्य योजनाको विषयमा जानकारी गराउने काम गरेका थिए ।
धनुषा जिल्लाका विगत दुई तीन वर्ष यता बाढीको खासै जोखिम नभएपनि जल तथा मौसम विज्ञान विभागले गरेको पूर्व अनुमान अनुसार बढी वर्षा हुने सम्भावना भएकाले सतर्कता अपनाउन आवश्यक भएकाले नै पूर्व तयारीका लागि बैठकको आयोजना गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले जानकारी दिनु भयो ।
बैठकमा धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले जिल्ला विपत् व्यवस्थापनका विषयमा भएको संरचनागत व्यवस्था, जिल्लामा विपतवाट जोगिनका लागि गरेको तयारी सहितको विषयमा जानकारी दिनु भएको थियो । बैठकमा विभिन्न पालिकाका प्रमुखहरुले विभिन्न विषयमा आ–आफ्नो सुझावहरू दिनु भएको थियो ।
धनुषा जिल्लाका १८ पालिकाका प्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृतहरू, विपतकाे समयमा काम गर्ने प्रहरी, सुरक्षा कर्मी, स्वास्थ्य तथा रेडक्रसकर्मीहरू, प्लान ईन्टरनेशनल जस्ता संस्थाहरूका प्रतिनिधिहरू सहभागी रहनु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्