तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री जोशी र प्रदेशसभा सदस्य भण्डारीद्वारा चैनपुर सेती जलविद्युत आयोजनाको भ्रमण अवलोकन 

बझाङ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र प्रदेशसभा सदस्य दमन भण्डारीले बुधबार तलकोट गाउँपालिका– ३ स्थित बष्टीमा रहेको निर्माणाधीन चैनपुर सेती जलविद्युत आयोजनाको भ्रमण अवलोकन गर्नुभएको छ ।

मन्त्री जोशी र प्रदेशसभा सदस्य भण्डारीले देशकै गौरवको आयोजनाका रुपमा लिइएको २१० मेगावाटको तीनवटा टनेल र विद्युत् गृहको भ्रमण अवलोकन गर्नुभएको हो । मन्त्री जोशी र सांसद भण्डारीले आयोजनालाई छिटोछरितो निर्माण सम्पन्न गर्नका लागि सबैले सघाउनु पर्नेमा जोड दिनुभएको थियो । मन्त्री जोशीले भ्रमण अवलोकनका क्रममा बष्टी गाउँ नजिक रहेको टनेलको स्विच अन गरेर टनेल ब्लाष्टिङ कार्य पनि अगाडी बढाउनुभएको छ ।

भ्रमण अवलोकनपछि चैनपुर सेती जलविद्युत आयोजनाका कार्यकारी निर्देशक अनिल भक्त श्रेष्ठको अध्यक्षतामा सर्वदलीय सर्वपक्षीय भेला पनि भएको थियो । भेलामा कार्यकारी निर्देशक अनिल भक्त श्रेष्ठले आयोजनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै समस्या चुनौती र परियोजनाले गर्ने सामाजिक उत्तरदायित्वका कामका बारेमा जानकारी दिनुभएको थियो । भेलामा प्रभावित समुदायको समस्या तथा माग सम्बोधन गरिने र अबदेखि स्थानीयले पनि अवरोध नगर्ने प्रतिबद्धता पनि जनाएको छ । 

नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन चैनपुर सेती जलविद्युत् आयोजनाको काम तीव्रगतिमा अघि बढाइएको छ । तलकोट गाउँपालिकामा गत फागुन ४ गतेबाट सुरु गरिएको २१० मेगावाटको जलविद्युत् आयोजना निर्माणको अहिले अडिट सुरुङ निर्माण सुरु भएको छ । चैनपुर सेती जलविद्युत आयोजनाका भूगर्भविद् अर्जुनकुमार पाण्डेले अहिले तीनवटा अडिट सुरुङ र प्रसारण लाइन निर्माणका लागि सर्भे भइरहेको बताउनुभयो । एउटा अडिट सुरुङ एक सय ३० मिटरभन्दा बढी काम पूरा भइसकेको छ भने अर्को अडिट सुरुङको २३ मिटर खनिएको र एउटा अडिट सुरुङ बस्ती नजिक भएकाले हालै मात्रै सुरु गरिएको पाण्डेको भनाई छ । चार वर्षसम्म सम्भाव्यता अध्ययन भएर निर्माण सुरु गरिएको गौरवको आयोजना चैनपुर सेती जलविद्युत आयोजनामा आगामी आर्थिक वर्षका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । प्राधिकरणले आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button