तपाईँ सुन्दै हुनुहुन्छः

एक महिना भित्र कर्णाली करिडोर मुगुमा जोडिँदै

अन्तिम चरणमा पिपलमुडा बेलिब्रिज,

मुगु ।  साबिक कर्णाली बासीहरूको  ‘लाईफ लाइन’को रूपमा रहेको  राष्ट्रिय  गौरवको आयोजनाको रूपमा लिइने  कर्णाली करिडोर हुम्ला पछि  आगामी असार महिनाको मसान्तसम्म मुगुमा जोडिँदै छ ।

सोरू गाउँपालिकाको  आर्थिक लगानीमा  हुम्लाको सीमा जोडिएको  सोरू गाउँपालिका वडा नं १ र २ मा पर्ने पिपलमुडा भन्ने स्थानको हुम्ला कर्णाली नदीमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेपछि  अबको १ महिना भित्रमा कर्णाली करिडोर  मुगुको सोरू गाउँपालिकामा जोडिने   सोरू गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाहीले जानकारी दिनुभयो । 

 कर्णाली राजमार्ग भन्दा कर्णाली करिडोर यात्रा गर्दा  हिउँदमा हिमपातको समस्या नहुने तथा छिटो र छरितो रूपबाट सुर्खेत नेपालगन्ज मुगुबाट गाडीमा सवार गर्दा एक दिनमा  पुगिने भएकाले सोरू गाउँपालिकाले  पिपलमुडाको  बेलिब्रिजमा लगानी गरेको सोरू गाउँपालिका उपाध्यक्ष केशरजङ्ग शाहीले बताउनु भयो ।   ४ करोड ५० लाख लगानी रहेको  उक्त बेलिब्रिज पुलले हुम्ला र मुगु जोड्ने छ ।  सोरूकोटदेखि पिपलमुडासम्म यस अघि नै ट्याक खोली सकिएको छ । पिपलमुडा वेलिब्रिज बन्ने बित्तिकै कर्णाली करिडोर भएर आउने   सवारी साधनहरू सिधै सोरूकोट हुँदै गमगढी पुग्ने अपेक्षा यहाँका स्थानीयहरूको छ  ।

यस अघि सुर्खेत पुग्न दुई दिनको समय लाग्नेमा अब एक दिनको समय छोटिने छ भने नेपालकै पर्यटकीय गन्तव्य स्थल रारा घुम्न आउने पर्यटकहरूलाईसमेत ठुलो राहात मिल्ने  जिल्ला समन्वय समितिका संयोजक मन्जन बहादुर कार्कीले बताउनु भयो । बजेट अभावका कारण   बेलिब्रिज निर्माणमा केही ढिलाइ भए पनि  योजना स्थलमा सबै निर्माण सामाग्री हरू पुगिसकेको बताइएको छ भने निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जलभ रबिचक्र जेभि निर्माण कम्पनीले  बेलिब्रिज निर्माणको जिम्मा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button