प्रदेशमा खेलकुदको गतिविधिहरू निरन्तर भइरहेको छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल र खेलाडीको प्रोत्साहनको लागि प्रदेश सरकार दत्तचित्त भएर लागेको बताउनुभएको छ ।
पोखरामा आजदेखि सुरु भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ को उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले प्रदेशमा खेलकुदको गतिविधिहरू निरन्तर भइरहेको उल्लेख गर्दै खेल र खेलाडीहरूको प्रोत्साहनको लागि आफू दत्तचित्त भएर लागेको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले ओलम्पिकमा सहभागी खेलाडीहरूको अनुभव आदानप्रदानका लागि गण्डकी प्रदेश सरकारले गत वर्षदेखि ‘स्कुल टु ओलम्पियन’ कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

गण्डकीबाट ओलम्पिकमा सहभागी खेलाडीहरूलाई आर्थिक सहयोग गर्न थालेको उल्लेख गर्दै उहाँले अब खेलकुदमा सपना देखेर लाग्न आग्रह गर्नुभयो ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले पोखरालाई अब खेलकुदको केन्द्र बनाउने अभियानमा ढिला गर्न नहुने बताउनुभयो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले खेलकुद राष्ट्रिय एकताको प्रतीकको रुपमा रहेको बताउनुभयो ।
उहाँले नेपाली क्रिकेटले विश्व सामु नेपालको नाम उँचो राख्ने काम गरेको बताउनुभयो ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले इतिहासमा पहिलो पटक यू–१५ विद्यालय खेलकुद प्रतियोगिता सञ्चालन गरेको दाबी गर्नुभयो ।
उहाँले बिद्यालयस्तरिय खेलकुदको विकासको लागि यस्ता कार्यक्रम गर्नु कोषेढुंगा सावित हुने जनाउनुभयो ।
प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले खेलकुद क्षेत्रको तल्लो स्तरबाट खेलकुदको विकास गराउने उद्देश्यले हाल ६ खेलबाट यसको सुरुवात भएको बताउनुभयो ।

एथलेटिक्स, बास्केटबल, रग्बी, टेबल टेनिस, ब्याडमिन्टन र बुद्धिचाल खेलमा सात प्रदेशका छात्रछात्राले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
उद्घाटनमा विभिन्न जनजातिका सांस्कृतिक कार्यक्रम, खेलाडीहरूको मार्चपास, पञ्चेबाजा, ब्यान्ड बाजा लगायत प्रस्तुती राखिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्