तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखसँग नर्वेजियन राजदूतको भेट

काठमाडौँ । सभामुख देवराज घिमिरेसँग सोमबार नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान, विकास सहयोग लगायतका विषयमा छलफल भएको छ ।

भेटमा सभामुख घिमिरेले सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीच उच्चस्तरीय राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदान प्रदान भएको, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन लगायतका क्षेत्रमा सहकार्य भएको बताउनुभयो । लामो राजनीतिक संक्रमण कालपछि नेपालमा अहिले दिगो आर्थिक विकास तथा शान्ति र स्थायित्वको अभियान सुरु भएको सभामुखको भनाइ थियो ।

नर्वेजियन राजदूत तोरुन ड्रामडलले सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि सन् १९५० देखि नै दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताउनुभयो । उहाँले आफ्नो मुलुकले नेपालका विभिन्न क्षेत्रमा ३ करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोग गरेको उल्लेख गर्नुभयो ।

राजदूत ड्रामडलले दुई मुलुकबीच समय समयमा उच्चस्तरीय भ्रमण भइरहेको स्मरण गर्दै आगामी सेप्टेम्बरमा नर्वेको परराष्ट्र तथा रक्षा सम्बन्धी संसदीय समितिले नेपाल भ्रमण गर्न लागेको जानकारी दिनुभयो ।

सभामुख घिमिरेले पनि नेपालको संसदीय संसदमा नेपाल–नर्वे संसदीय मैत्री समूह गठन भएको जानकारी दिँदै आगामी सेप्टेम्बरमा नर्वेको परराष्ट्र तथा रक्षासम्बन्धी संसदीय समितिको नेपाल भ्रमणले संसदीय आदान प्रदानलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button