कैलालीमा चैते धान खेतीतर्फ आकर्षण बढ्दै
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ का ५४ वर्षीय बुझाउन चौधरी चैते धान भित्र्याउने तयारीमा हुनुहुन्छ । तीन वर्षदेखि चैते धानको खेती गरिरहेका उहाँले यसपटक पनि पाँच कट्ठा जमिनमा धान लगाउनुभएको छ । उहाँ त्यही धान भित्र्याउने तयारीमा हुनुहुन्छ ।

बर्से धान खेतीभन्दा बढी उब्जनी हुने भएकाले विगत तीन वर्षदेखि चैत धान खेती गर्न थालेको उहाँले बताउनुभयो । “खेती लगाएको सुरुको वर्ष पाँच कट्ठामा १० क्विन्टल उत्पादन भएको थियो । सोही जग्गामा वर्षे धान लगाउँदा बढीमा छ क्विन्टलसम्म उत्पादन हुन्थ्यो । त्यसैले आउँदो वर्ष एक बिघामा धान लगाउने सोच बनाएको छु”, उहाँले भन्नुभयो,“खान मिठो र उत्पादन पनि राम्रो हुने भएकाले चैते धान खेतीतर्फ आकर्षित भएको थिए । अहिलेसम्म पछुताउनु परेको छैन ।”
उहाँ मात्रै होइन घोडाघोडी नगरपालिकाका ९० जना कृषकले पाँच सय २१ कट्ठामा चैते धान खेती गरेका छन् । तिनै किसानमध्ये कतिपयले धान भित्र्याइसकेका छन् भने कतिपय भित्र्याउने तयारीमा छन् । यसरी चैते धान खेतीतर्फ आकर्षित भएका किसानलाई प्रोत्साहनका लागि घोडाघोडी नगरपालिकाले पुरस्कार स्वरूप नगद सहयोगसहित सम्मानित गरेको छ । पालिकाभित्रका चैते धान रोप्ने ९० कृषकलाई प्रतिकट्ठा पाँच सयका दरले पुरस्कृत र सम्मान गरेको कृषि शाखा प्रमुख जनकसिंह धामीले जानकारी दिनुभयो ।
पछिल्लो समय जमिन बाँझो राख्ने क्रम बढेको र स्थानीय स्तरमा उत्पादन बढाउन कृषकलाई प्रोत्साहन स्वरूप नगरपालिकाले नगद पुरस्कार दिने नीति लिएको उहाँले बताउनुभयो ।
घोडाघोडीसँगै कैलालीका अन्य पालिकामा पनि चैते धान खेतीतर्फ आकर्षण बढ्दै गएको छ । कैलालीको तल्लो क्षेत्रका स्थानीयले विगतदेखि नै बाढीका कारण चैते धान लगाउँदै आएका थिए तर पछिल्लो समय कैलालीका बाढी प्रभावित नहुने क्षेत्रका कृषक समेत चैते धान खेतीतर्फ आकर्षित हुँदै गएका कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले जानकारी दिनुभयो ।
डुबान हुने क्षेत्रमा एक बाली र अन्य क्षेत्रमा चैते र वर्षे गरेर दुई बाली धान भित्र्याउने गरिएको छ । यस कार्यले जिल्लामा समग्र धान उत्पादनको स्थितिमा सुधार भएको ज्ञान केन्द्रले जनाएको छ । कैलाली जिल्लाभर गत वर्ष एक हजार एक सय हेक्टरमा मात्रै लगाइएको चैते धान यस वर्ष भने एक हजार एक सय ५० हेक्टरमा लगाइएको छ । यस वर्ष समग्रमा पाँच हजार सात सय ५० टन चैते धान उत्पादन हुने ज्ञान केन्द्रको प्रक्षेपण छ ।
चैते धान खेतीको विस्तारले जिल्लाका बाढी प्रभावित चार वटा स्थानीय तहका कृषकको जीविकोपार्जन सुधारमा समेत सहज भइरहेको छ । अन्य पालिकाका कृषकले पनि वर्षको दुई पटक धान बालीबाट लाभ लिई आम्दानीमा वृद्धि हुने र उत्पादन वृद्धिले भारतबाट हुने धान चामलको आयातमा कमी आउने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्