तपाईँ सुन्दै हुनुहुन्छः

अन्तरजातीय विवाह गरेका १० जोडीलाई भरतपुर महानगरपालिकाको सम्मान

चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १० जोडीलाई सम्मान गरेको छ ।

आइतबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गर्नुभयो ।

सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१९ का आशिष विक र शान्ति घर्ती, भरतपुर–१९ कै सुवन गहतराज र शान्ता श्रेष्ठ, भरतपुर–२३ का नविन विक र कमला श्रेष्ठ, भरतपुर–११ का विवेक सुनार र अम्बिका कार्की, भरतपुर–१६ सुशिल परियार र सुस्मिता बुढाथोकीको जोडी रहनुभएको छ ।

यस्तै, भरतपुर–२५ का अविनास सुनार र मिना भुजेल, भरतपुर १४ विवस महतो र प्रतिभा सुनार, भरतपुर १४ कै पदम बहादुर विक र फुलमायाँ लावती, भरतपुर १५ का विनोद परियार र अरुणा राई, भरतपुर ६ का सुवास विक र मायाँ कुमालको जोडी रहनुभएको छ ।

उहाँहरूलाई महानगरले आज एक कार्यक्रमका बीच एक जोडीलाई नगद रु एक÷एक लाखसहित सम्मान गरेको हो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले विगत ४ वर्षदेखि सुरुवात भएको सम्मान कार्यक्रममा क्रमशः जोडीको सङ्ख्या वृद्धि हुँदै गएको बताउनुभयो । उहाँले भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको बताउनुभयो । जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको उहाँको भनाई ।

‘हिजोको सामन्तवादी सोच, चिन्तन र प्रवृत्ति आज पनि देखिने गरेको छ ।”, उहाँले भन्नुभयो, “संविधानले जातीय विभेदलाई अपराधजन्य कार्य भनेर ठहर गरेपनि सोचे जति परिवर्तन हुन सकेको छैन ।”

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका विषयमा फड्को मारेको र जात जातिमा हुने विभेद अन्त्यको लागि सम्मान कार्यक्रम गरिएको बताउनुभयो । उहाँले नेपालका ७५३ पालिका मध्ये भरतपुर महानगरले अन्तरजातीय जोडीलाई सम्मान गरी उदाहरणीय कार्य गरेका बताउनुभयो ।

महानगरले यसअघि १३ जोडीलाई सम्मान गरिसकेको छ । महानगरले हालसम्म अन्तरजातीय विवाह गर्ने २३ जनालाई सम्मान गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button