तपाईँ सुन्दै हुनुहुन्छः

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सञ्चालन निजी वायुसेवा कम्पनीहरूलाई दिन सकिने:  मन्त्री तामाङ

file photo

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सञ्चालन निजी वायुसेवा कम्पनीहरूलाई पनि दिन सकिने बताउनु भएको छ।

आज पर्यटन बोर्डमा अठोट नेपाल र उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश अन्तर्गत पर्यटन विकास समितिको संयुक्त आयोजनामा भएको दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्रतियोगिता २०२४ को उद्घाटन  गर्नु हुँदै मन्त्री तामाङले हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल वायु सेवा निगमले गरिरहेको र यसलाई निरन्तरता दिँदै अन्य अन्तर्राष्ट्रिय उडानको मान्यता पाएका निजी एयरलाईन्सहरुले पनि यस विमानस्थललाई आधार बनाएर नियमित उडान सुरु गरेमा त्यो जिम्मेवारी दिन सकिने बताउनु भयो।

यसका लागि नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम ५.२ बमोजिम प्रक्रिया शुरु गर्न प्राधिकरण व्यवस्थापनलाई स्वीकृति प्रदान गरिएको पनि मन्त्री तामाङले जानकारी दिनुभयो ।

यसरी निजी एयरलाईन्सहरुलाई पनि प्रतिस्पर्धा गराएर सेवा सुरु गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोझै अन्तर्राष्ट्रिय उडानहरू वृद्धि गर्न सकिने मन्त्री तामाङले विश्वास व्यक्त गर्नुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू जोड्दा पर्यटन क्षेत्रमा प्रवद्र्धन पुग्ने र पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक उपार्जनको महत्वपूर्ण र भरपर्दो क्षेत्रको रुपमा विकास गर्ने आफूहरूको सोच रहेको भन्दै सबैलाई हातेमालो गरेर अघि बढ्न मन्त्री तामाङको आग्रह छ ।

पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्न राज्यले नीतिगत सुधार गर्नु पर्ने, व्यवसायीहरूलाई उत्साहित बनाउनु पर्ने आवश्यकता रहेको भन्दै उहाँले अब यसमा सरकार लागि पर्ने बताउनु भयो ।

विभिन्न देशका राजदूतहरूले भेटेरै नेपालमा स्वदेशी र विदेशी नागरिक एवं पर्यटकलाई हवाई भाडा देखि विभिन्न सेवा सुविधाको मूल्य फरक फरक रहेको गुनासो गर्ने गरेको भन्दै यसलाई अन्त्य गर्नु पर्नेमा पनि मन्त्री तामाङले जोड दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button