तपाईँ सुन्दै हुनुहुन्छः

“सामाजिक रुपान्तरणका लागि शिक्षामा सुधार आवश्यक” 

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले शिक्षामा आमूल परिवर्तन विना समाजको रूपान्तरण कठिन भएको बताउनु भएको छ । 

सभामुख मण्डलले वल शिक्षा सहितका विभिन्न क्षेत्रमा सातै प्रदेशमा काम गर्दै आएको आसमान नेपालको २५ औँ रजतजयन्ती समारोहको आज जनकपुरधाममा उद्घाटन गर्दै राज्यको शिक्षामा धेरै लगानी भएपनि सो अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउनु भयो । 

उहाँले सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधार, शिक्षक सहितका सम्पूर्ण सुविधाहरू भएपनि आम अभिभावकमा विश्वास जगाउन नसकेका कारणले कतिपय विद्यालयहरूमा विद्यार्थीहरूको अभाव भएको बताउनु भयो । सभामुख मण्डलले विगतका दिनमा शिक्षामा व्यक्तिहरूले लगानी गरेको बताउँदै अहिले राज्यले नै लगानी गरेपनि उपलब्धि कम हुनु दुःखद भएको बताउनु भयो । 

उहाँले शिक्षामा परिवर्तन ल्याउनका लागि आसमान जस्ता संस्थाहरूले थप प्रभावकारी काम गर्न जरुरी रहेको बताउँदै शिक्षामा भएको विकृतिले समाज नै विकृत बनिरहेको बताउनु भयो । 

प्रतिनिधि सभाका सदस्य एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य मुक्ता कुमारी यादवले आफूलाई अहिलेको अवस्थामा पुर्‍याउने काममा आसमान नेपालको ठुलो हात भएको बताउँदै सामाजिक रूपान्तरणमा आसमानको भूमिका अतुलनीय भएको बताउनु भयो । 

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले विद्यालयहरूको सुधार विना शिक्षाको सुधार कठिन भएको बताउँदै राम्रो पठन पाठन भएको विद्यालयहरूमा विद्यार्थीहरूको चाँप अत्यधिक भएको बताउनु भयो । 

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले आसमान नेपालले शिक्षा, स्वास्थ्य तथा महिला र बालबालिकाको क्षेत्रमा गरेको काम अतुलनीय भएको बताउनु भयो । आसमान नेपालका अध्यक्ष रामप्रवेश यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सभाका सदस्य संजय कुमार महतो सहितका वक्ताहरूले बोल्नु भएको थियो । 

आसमान नेपालले बालशिक्षा, स्वास्थ्य, सुशासन, गरिबी निवारण, महिला सशक्तीकरण सहितका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउँदै कार्यकारी निर्देशक नव किशोर यादवले कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूलाई विद्यालयमा टिकाउनका लागि स्थानीय तहसँग मिलेर काम गर्ने गरि स्थानीय गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्ने र त्यसका लागि २५ हजार युवाहरूलाई प्रशिक्षित गर्ने नीति बनाउन लागेको बताउनु भयो । 

कार्यक्रममा आसमानसँग सहकार्य गरेका प्लान ईन्टरनेशलन, युनिसेफ जस्ता संस्थाहरूका प्रतिनिधिहरूलाई सम्मानपत्र सहित सम्मानित गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button