तपाईँ सुन्दै हुनुहुन्छः

जलवायु परिवर्तन विश्व समुदायका लागि प्रमुख चुनौती बन्दै : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जलवायु परिवर्तन विश्व समुदायका लागि प्रमुख चुनौती बन्दै गएको बताउनुभएको छ । 

विश्व वातावरण दिवसका अवसरमा रेडियो नेपालले आज ललितपुरको भैंसेपाटी प्रसारण केन्द्र परिसरमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सञ्चारमन्त्री शर्माले नेपाल जस्ता विकासशील मूलकहरू जलवायु परिवर्तनका लागि निर्णायक नरहे पनि यसको गहिरो असर भोगिरहेको बताउनुभयो । 

मन्त्री शर्माले जलवायु परिवर्तनका कारण नेपाल जस्ता विकासशील मुलुकहरूले भोग्दै आएका समस्याबारे नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर आवाज उठाउनुका साथै आवश्यकता अनुसार नेतृत्वदायी भूमिका समेत निर्वाह गर्दै आएको बताउनुभयो । 

मन्त्री शर्माले वातावरण संरक्षणका लागि बोट बिरुवा रोप्ने प्रचलन नेपालमा स्थापित परम्पराका रुपमा विकास हुँदै गएको उल्लेख गर्नुहुँदै यसलाई आय–आर्जनसँग जोड्न सके नागरिकको जीवन स्तर उकास्न समेत सहयोग पुग्ने बताउनुभयो । 

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालको जग्गामा फलफूलका बिरुवाहरू लगाई वातावरणको संरक्षणका साथसाथै आयआर्जन समेत गर्ने लक्ष्य रहेको बतउनुभयो ।

रेडियो नेपालले भैसेपाटीमा रहेको प्रसारण केन्द्र परिसरको करिब ८५ रोपनी क्षेत्रफलमा विभिन्न जातका करिब ५ सय फलफूलका बिरुवा रोप्ने योजना रहेको कार्यकारी निर्देशक केसीले जानकारी दिनुभयो । 

वृक्षारोपण कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदी, मन्त्रालयका सहसचिव बाबुराम भण्डारीलगायत रेडियो नेपालका उच्च पदाधिकारीहरू तथा कर्मचारीहरुकाे सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button