इरानी संसद्का सभामुख गालिबाफद्वारा राष्ट्रपति पदको उम्मेदवारी दर्ता
तेहरान। इरानी संसद्को कन्जरभेटिभ सभामुख मोहम्मद बघेर गालिबाफले सोमबार जुन २८ मा हुने राष्ट्रपति निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
निर्वाचन मूलरूपमा सन् २०२५ मा हुनुपर्ने थियो तर मे १९ मा अति कन्जरभेटिभ राष्ट्रपति इब्राहिम रायसीको अप्रत्याशित मृत्युपछि निर्वाचनलाई अगाडि बढाइएको हो ।
कुहिरोले छोपेको इरानको पहाडमा हेलिकप्टर खस्दा विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानसहित रायसी र उहाँको टोलीका सात सदस्यको मृत्यु भएको थियो ।
अन्य सबै आशावादीहरू जस्तै गालिबाफले उहाँको उम्मेदवारीलाई गार्जियन काउन्सिलले अनुमोदन गर्छ कि गर्दैन भन्ने हेर्नका लागि जुन ११ सम्म प्रतीक्षा गर्नुपर्नेछ ।
सर्वोच्च नेताद्वारा नियुक्त वा अनुमोदित हुने गार्जियन काउन्सिल कन्जरभेटिभ–प्रभावित न्यायविद्हरूको १२ सदस्यीय सशक्त संस्था हो । यसले सार्वजनिक पदका लागि सबै उम्मेदवारको जाँच गर्दछ ।
सन् २००५, सन् २०१३ र सन् २०१७ मा उम्मेदवारी दर्तापछि यो गालिबाफको राष्ट्रपति पदका लागि चौथो प्रतिस्पर्धा हो । आफ्नो अन्तिम प्रयासमा गालिबाफले रायसीको पक्षमा आफ्नो नाम फिर्ता लिनुभएको थियो । रायसीले उदारवादी सत्ताधारी रुहानीलाई हराउनुभएको थियो ।
उम्मेदवारी दर्ता गराएपछि गालिबाफले भन्नुभयो, “मैले निर्वाचनमा लडिन भने जनताको आर्थिक समस्या समाधानका लागि विगत केही वर्षदेखि थालेको काम पूरा हुँदैन ।” उहाँले इरानको आर्थिक तथा सामाजिक समस्याहरूको समाधान गर्न सकिन्छ भन्ने आफूले विश्वास नगरेको भए ‘प्रतिस्पधाको क्षेत्रमा कहिल्यै प्रवेश गर्ने थिइनँ’ भन्नुभयो ।
बैसठ्ठी वर्षीय गालिबाफ इरानको सेनाको वैचारिक शाखा इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सको वायु सेनाको पूर्वकमान्डर हुनुहुन्छ । उहाँ मे २८ मा नयाँ इरानी संसद्को सभामुखमा निर्वाचित हुनुभएको थियो । उहाँले यसअघिको विधानसभामा पनि सोही पद सम्हाल्नुभएको थियो ।
इरान–इराक युद्धका अनुभवी गालिबाफ सन् २००५ देखि सन् २०१७ सम्म तेहरानको मेयर हुनुहुन्थ्यो र त्यसअघि इरानी प्रहरी बल प्रमुख हुनुहुन्थ्यो ।
उम्मेदवारी दर्ता बिहीबार खुला भएको छ र सोमबार बन्द हुनेछ । पूर्वराष्ट्रपति महमुद अहमदिनेजाद, उदारवादी पूर्वसभामुख अली लारिजानी र अति कन्जरभेटिभ पूर्वपरमाणु वार्ताकार सइद जलिलीलगायत अन्य प्रमुख हस्तीहरूले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।एएफपी







प्रतिक्रिया राख्नुहोस्