रेडियो नेपाल र बिबिसीबिच कार्यक्रम प्रसारण गर्ने सम्झौता

काठमाडौँ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) र ब्रिटिस ब्रोडकास्टीङ कर्पोरेशन (बिबिसी) बीच रेडियो नेपालबाट बिबिसी कार्यक्रम प्रसारण गर्ने सम्बन्धी पहिलो संशोधनसहित सम्झौता भएको छ ।
रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा एक कार्यक्रमका बीच रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र बिबिसीका व्यापार विकास निर्देशक सिमोन केन्डालद्वारा हस्ताक्षरित सम्झौता पत्र आदान प्रदान भएको हो।
सो कार्यक्रममा बिबिसी विश्व सेवाका एसिया र मिडिल इस्ट ब्यापार प्रमुख खालिद अब्दाल्ला, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर के सी, बिबिसी विश्व सेवाका नेपालस्थित प्रतिनिधि वरिष्ठ सेवा प्रबन्धक ओजस्वी ढुङ्गेल लगायत रेडियो नेपालका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

सम्झौता अनुरुप बिबिसीले रेडियो नेपालको एफएमबाट कार्यक्रम प्रसारण गरेबापत वार्षिक रुपमा तिर्नुपर्ने शुल्कमा वृद्धि गरी संशोधन गरिएको छ ।
यस किसिमको सम्झौताले रेडियो नेपालको आय आर्जनमा कोशेढुंगाको रुपमा काम गरेकोले रेडियो नेपाल बिबिसी विश्व सेवा प्रति कृतज्ञ रहेको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर के सीले बताउनुभयो ।
साथै आगामी दिनमा काठमाडौँ उपत्यका बाहिरका प्रमुख सहरहरूबाट समेत बिबिसीको रिले प्रसारणको लागि रेडियो नेपालको तर्फबाट बिबिसी विश्व सेवालाई प्रस्ताव गरिने कार्यकारी निर्देशक के सीले बताउनुभयो ।
रेडियो नेपाल र बिबिसीबिच रेडियो नेपालबाट बिबिसी कार्यक्रम प्रसारण गर्ने सम्बन्धि पछिल्लो सम्झौता सन् २०१५ मा भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्