जातीय भेदभाव र छुवाछुत पूर्णरुपले उन्मुलन हुन सकेको छैन : मन्त्री तामाङ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले संघीय लोकतान्त्रिक गणतन्त्रले संवैधानिक रुपमा जातीय भेदभाव र छुवाछुत अन्त्य गरे पनि व्यवहारिक रुपमा खास गरी ग्रामीण क्षेत्रमा यो शोषण अझै कायम रहेको बताउनुभएको छ ।
काठमाडौँमा जातीय भेदभाव र छुवाछुत विरुद्धको दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री तामाङले लामो समयदेखि रहेको शोषण, दमन र उत्पीडनको अवशेष पूर्ण रूपले उन्मुलन हुन अझै बाँकी रहेकाले सबैले यसका विरुद्ध एकजुट भएर लाग्नुपर्ने बताउनुभयो।
मन्त्री तामाङले लामो सङ्घर्ष र बलिदानबाट अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र आउन सफल भएको भन्नुहुँदै यसपछि मात्रै सदियौँ देखिको भेदभाव अन्त्य हुँदै गएको बताउनुभयो । उहाँले यदि सबै उत्पीडितहरू मिलेर नलडेको भए, पुर्खा र शहीदहरूले नलडेका भए अहिलेको सङ्घीयता, गणतन्त्र स्थापना सम्भवतः असम्भव रहेको बताउनुभयो । उहाँले अझै पनि यो परिवर्तन उल्ट्याउन लाग्ने तत्त्वहरूले षड्यन्त्र गरिरहेको भन्दै यसलाई असफल पार्नुपर्ने बताउनुभयो ।
उहाँले जातीय उत्पीडन र भेदभाव वर्गीय उत्पीडन र भेदभावकै हिस्सा भएकाले जातीय मुक्ति आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग नजोडी सफल नहुने बताउनुभयो ।
उहाँले संविधान र कानुनमै कसैले पनि भेदभाव र छुवाछुत गर्छ भने दण्डनीय हुने व्यवस्था गरेको र शोषणको अन्त्य गर्न सफल भए पनि व्यवहारिक रुपमा केही अंश बाँकी रहेको बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्