अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व : मन्त्री तामाङ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।
मन्त्रालयले संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को सहकार्यमा आजदेखि ललितपुरमा सुरु गरेको तीन दिने अभौतिक सांस्कृतिक सम्पदा संरक्षणको आवधिक प्रतिवेदन तयारीसम्बन्धी राष्ट्रिय परामर्श गोष्ठीमा उहाँले भौगोलिक, जातीय, भाषिक एवं सांस्कृतिक विविधताभित्र धेरै सांस्कृतिक सम्पदा रहेको बताउनुभयो । मन्त्री तामाङले नेपाल भौगोलिक र जनसाङ्ख्यिकरुपले सानो मुलुक भए पनि अभौतिक सांस्कृतिक सम्पदाको दृष्टिले धनी मुलुक भएकाले यसका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणमा सक्रिय एवं प्रतिवेदन तयारीमा सहभागी सबै पक्षलाई उहाँले नेपालको सांस्कृतिक विविधता झल्कने गरी प्रतिवेदन तयारी गर्न आग्रह गर्नुभयो ।
मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेले संस्कार, संस्कृति एवं जीवनपद्धति संरक्षण गर्नु चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । खाद्य संस्कार, धार्मिक, आध्यात्मिक कर्म हस्तान्तरण गर्न अहिले मानिसका हात हातमा हुने मोबाइल र प्रविधि बाधक बनेको देखिन थालेको उल्लेख गर्नुहुँदै उहाँले संस्कृति नभुल्न जागरण फैल्याउनुपर्नेमा जोड दिनुभयो । अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरण र अभिलेखीकरण गरी पुस्तान्तरण एवं हस्तान्तरण पनि गर्दै जानुपर्ने सचिव पाण्डेको भनाइ थियो ।
मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सहसचिव डा सुरेशसुरस श्रेष्ठले नेपालले सन् २०१० मै अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि अनुमोदन गरेको जानकारी दिनुहुँदै छ वर्षपछि सन् २०१६ मा आवधिक प्रतिवेदन पेश गर्नुपर्ने भए पनि संयुक्त राष्ट्रसङ्घले निर्देशिका परिवर्तन गरेका कारण त्यसको छ वर्षपछि अहिले प्रतिवेदनको तयारी भएको बताउनुभयो ।
नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्राफ्टले अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि सरोकार भएका सबै निकायसँग सहकार्य र समन्वय गरेर काम गरिने प्रतिबद्धता जनाउनुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्