तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक गर्मीका कारण किसानले धानको बीउ राख्न पाएनन् 

बाँके । बाँकेमा अत्यधिक गर्मीले धानको बीउ राख्न नपाएपछि यहाँका किसान चिन्तित भएका छन् । जेठ सकिन लागिसक्दा पनि पानी नपरेपछि यस वर्ष धान उत्पादनमा कमी आउने किसानले आङ्कलन गरेका छन् । 

बाँके नरैनपुर १ का अध्यक्ष इसाक जोलाहले घरमा भएको विद्युतीय मोटर कम भोल्टेजका कारण नचल्दा यस वर्ष खेतीका लागि सिँचाइ गर्न गाह्रो भएको बताउनुभयो । “मेरो घरमा मोटर भए पनि कम भोल्टेजका कारण मोटरले पानी नै तान्दैन”, उहाँले भन्नुभयो,असारको पहिलो सातादेखि रोपाइँ सुरु गरि सक्नु पर्ने हो तर जेठको २० गते भई सक्दा पनि धानको बीउ राख्न नपाएको गुनासो गर्नु भयो । 

जेठ सकिन लागिसक्दा पनि पानी नपरेपछि मोटरको प्रयोग गरी धानको बीउ लगाए पनि सुक्न थालेको डुडुवा ३ का बिकाउ लाल यादवले बताउनु भयो । उहाँले छिमेकीको मोटरबाट पानी तानेर बीउ राख्नुभएको थियो । बीउलाई पटक पटक सिँचाइ गर्नुपर्ने भए पनि पानी नपर्दा बीउ राखेको जमिन चिराचिरा भएर चर्किन थालेको यादवले बताउनुभयो । “बीउ त छिमेकीको मोटरबाट पानी तानेर राखियो । जेठ सकिन लागिसक्दा पनि आकाशबाट पानी परेको छैन । बीउ सुक्न थालिसक्यो । बीउ राखेको जमिन चिरा परेको छ”, उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमदले भन्नुभयो,“दुई वर्ष पहिला बाँकेको नरैनापुर क्षेत्रलाई सुक्खा क्षेत्र घोषण गरिएको थियो । यस वर्ष जिल्ला पूरै सुक्खा हुने चिन्ता यहाँका किसानलाई पर्न थालेको छ ।”, उहाँले सिँचाइको उपलब्धता विना आकाशे पानीको भरमा खेती गर्ने किसानलाई पछिल्लोपटक बढ्दै गएको गर्मीले निराश बनाएको बताउनु भयो ।

प्रमुख अहमदले सिक्टा सिँचाइ आयोजनाले बाँकेको महादेवपुरी, राप्तिसोनारी र बैजानाथमा पानी छोडे पनि त्यो किसानका लागि पर्याप्त नहुने बताउनु भयो । “मनसुन समयमा नहुँदा सिक्टाले केही भागमा पानी छोडे पनि सिँचाइका लागि त्यो पानी पर्याप्त छैन,” उहाँले भन्नुभयो, “सिक्टाबाट छोडिएको पानी नहर आसपासका खेतलाई मात्र पुग्छ । पूरै जिल्ला सिञ्चित हुँदैन । नहर आसपासका किसानलाई भने केही राहत मिल्छ ।”

जिल्लामा धान रोपाइँ हुने कूल ३६ हजार पाँच सय हेक्टर खेतीयोग्य जमिन छ । गत वर्ष सोही क्षेत्रफल खेतमा धान खेती गरिएको थियो । अहिले पनि सबै क्षेत्रफलमा धान खेती हुने अनुमान रहेको केन्द्रले जनाएको छ । असारको पहिलो सातासम्म मनसुन सक्रिय भएमा उत्पादनमा असर नहुने प्रमुख अहमदले बताउनुभयो । उहाँले रोपाइँ गरिसकेपछि साउन र भदौमा समेत निरन्तर वर्षा भएमा धान उत्पादन राम्रो हुने उल्लेख गर्नुभयो । 

मनसुन अनुकूल नभएकाले किसानलाई कम समयमा उत्पादन हुने र सुक्खा सहन सक्ने जातको बीउ लगाउन सुझाव दिनुभयो ।

सिक्टाको क्षेत्र विस्तार गर्न डुडुवा र नरैनापुर शाखा नहरको निर्माणका लागि १ अर्ब ६० करोड विनियोजन गरेको छ । उक्त नहर निर्माण भएर सञ्चालनमा आए पछि राप्ती सोनारी र नरैनापुरका किसानलाई केही राहत मिल्ने नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इश्तियाक अहमद शाहले बताउनु भयो । उहाँले भन्नुभयो, नरैनापुरमा सिक्टाको सिँचाई पु¥याउनका लागि गम्भीर भएर नलागे नरैनापुर सुख्खा क्षेत्रको रुपमा परिणत हुने जिकिर गर्नु भयो । 

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पानीले यस वर्ष बाँके जिल्लाको २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट चार हजार दुई सय गरी २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको सिक्टाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button