अन्नपूर्ण दिवसको अवसरमा विभिन्न देशका राजदूतसहित कूटनीतिक नियोगका प्रतिनिधिहरू धम्पुसमा

पोखरा । अन्नपूर्ण दिवसको पूर्व अवसरमा विभिन्न देशका राजदूत सहित कूटनीतिक नियोगका प्रतिनिधिहरू कास्कीको पर्यटकीय गाउँ धम्पुसमा पदयात्रा गर्नु भएको छ । विभिन्न देशका राजदूत सहितको टोलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान स्वागत गरेसँगै कास्कीको पर्यटकीय गाउँ धम्पुसमा पर्ने धिताल गाउँ हुँदै अस्तामसम्मको पदयात्रामा गर्नु भएको छ ।
पन्चे बाजा सहित टोलीलाई फुलमाला तथा वुकीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेसँगै अतिथिहरूलाई पदयात्रामा सहभागी गराइएको हो । करिब ३ घण्टाको पदयात्रा गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नवीन पोखरेलले बताउनु भयो । इजरायलका राजदूत गोडर गोल्डर्वगर, अमेरिकाका राजदूत फियोन र थाइल्यान्डका राजदूत चार्मीनी पाथिराना पोखरामा आउनु भएको उहाँले जनाउनु भयो ।
जुन ३ अर्थात् अन्नपूर्ण आरोहण दिवस । पर्यटनको राजधानी पोखरामा अन्नपूर्ण दिवसको अवसरमा आज र भोलि पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइँदै गरेको निमित्त प्रमुख पोखरेलले जनाउनु भयो ।
अन्नपूर्ण दिवसको पूर्व अवसरमा जेठ २० गते नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सहित संयुक्त राष्टसंघीय विकास कार्यक्रम, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहितका कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता हुने भएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताउनु भयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना, टान गण्डकी प्रदेशको समन्वयमा यस बर्ष अन्नपूर्ण प्रथमको ७४ औँ आरोहण दिवस विभिन्न कार्यक्रमका साथ पोखरामा मनाउन सुरु गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका वरिष्ठ अधिकृत कुन्दन मिश्र शर्माले बताउनु भयो ।
अन्नपूर्ण दिवसको मूल समारोह भने ३ जुन अर्थात् जेठ २१ गते सोमवार बिहान ८ बजेबाट सुरु हुने भएको छ । मुख्य समारोहमा गण्डकी प्रदेशका सांस्कृतिक पर्यटन प्रवर्द्धन र आमन्त्रित विशिष्ट पाहुनाहरूको स्वागतमा सांस्कृतिक र्याली निकालिने भएको छ । प्याली बिहान ८ बजे सुरु गर्ने तयारी गरिएको छ । उक्त अवसरमा तीन जना पर्वतारोही पूर्णिमा श्रेष्ठ, दावा योङजम शेर्पा र लाक्पा डेण्डी शेर्पा सहितका हिमाल आरोहीलाई सम्मान गरिने भएको छ ।
नेपाल सरकार परराष्ट्र मन्त्रालयसंगको सहकार्य आयोजना हुन गइरहेको उक्त दिवस कार्यक्रम सम्पन्न गर्न पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको समेत साथ र सहयोग रहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका सचिव तीर्थराज सुवेदीले बताउनु भयो । अन्नपूर्ण दिवसका कार्यक्रमका लागि टान गण्डकी र नेपाल पर्वतारोहण संघ गण्डकीले सहकार्य गरेको छ ।
अन्नपूर्ण दिवस विश्वका ८ हजार मिटर अग्ला हिमाल मध्ये आरोहण गरिएको पहिलो हिमाल हो । यसबाट नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा हरेक बर्ष यो जुन ३ लाई अन्नपूर्ण दिवसको रुपमा मनाइने गरिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सेली आरोही मौरीस हर्जोग र लुई लचेनलले पाइला टेकेपछि विश्वका आठ हजार मिटर अग्लो हिमालमा पहिलो पटक आरोहण आरम्भ भएको दिनका रुपमा यो दिनलाई विशेष रुपमा मनाउन थालिएको हो।
पर्यटन राजधानी पोखरा र समग्र गण्डकी प्रदेशको मात्र नभई समग्र नेपालकै पर्वतीय पर्यटनको प्रचार प्रसार र प्रवर्द्धन हुनुको साथै यसबाट विश्व पर्यटन बजारमा समेत सकारात्मक प्रभाव सिर्जना भई समग्र नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको निमित्त प्रमुख पोखरेलले जनाउनु भयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले ट्रेकिङ रुटहरूको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्