परम्परागत आरन विस्थापित गर्दै सुधारिएको आरन निर्माण

गोरखा । गण्डकी गाउँपालिकाले पालिका भित्र रहेका १९ वटा परम्परागत आरन विस्थापित गरेको छ । खलातीको प्रयोग गरेर परम्परागत शैलीमा कुटो, कोदालो लगायतका कृषि औजार र अन्य घरायसी प्रयोजनका सामग्री बनाउँदै आएका कालिगढहरुलाई मागका आधारमा आधुनिक सामग्री प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले बताउनुभयो ।
नेपाल सरकारले उपलब्ध गराएको विशेष अनुदानबाट गाउँपालिकाले रोजगार सेवा केन्द्र मार्फत सहयोग गरेको हो ।
आरानका लागि आवश्यक छानो, ग्राइण्डर मेसिन, हावा फाल्ने मेसिन विद्युतीय मेसिन लगायतका अत्यावश्यक सामग्री प्रदान गरिएको रोजगार संयोजक लक्ष्मण रेग्मीले जानकारी दिनुभयो ।
दलित समुदायका नागरिकहरू यस पेसामा धेरै जना सक्रिय रहेका छन् । आयस्रोत न्युन भएका नागरिकहरूले आरन व्यवसाय गर्दै आएका छन् । उनीहरूले खेती गर्ने किसानहरूका लागि दैनिक रुपमा आवश्यक पर्ने सामग्री आफ्नो सीपको प्रयोग गरी बनाउँदै आएका छन् । परम्परागत रुपमा आरान सञ्चालन गर्दा पेशा जोगाउन समस्या पर्ने गुनासो आएपछि आधुनिक रुपमा आरान व्यवसाय गर्न प्रोत्साहन गरिएको गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले बताउनुभयो ।
बजारबाट ल्याएका सामग्री भन्दा गाउँघरमा राम्ररी पाइन मिलाएर बनाइएका सामग्री टिकाउ राम्रो हुने र काम गर्न सजिलो पर्ने भएकाले आरान व्यावसायीहरुलाई प्रोत्साहन गरिएको अध्यक्ष तिमिल्सिनाको भनाई छ ।
गाउँपालिकाले गरेको सहयोगले काम गर्ने मनोबल बढेको वडा नम्बर ४ फुजेलका कालिगढ दल बहादुर सुनार बताउनुहुन्छ । हावा फाल्ने खलाती बनाउन निक्कै असहज भइरहेका समय वडामा बोलाएर चाहिएको सामग्री माग गर्नु भने अनुसार आरान मै आएर सामग्री दिँदा आफू अत्यन्तै खुशी भएको भुम्लीचोकका कालिगढ काले वि.क. बताउनुहुन्छ । आरान व्यावसायीहरुको १५ प्रतिशत लागतमा गाउँपालिकाले १९ जनालाई मागका आधारमा आरानमै पुगेर सामग्री हस्तान्तरण गरेको थियो । यसबाट सेवाग्राहीहरूले छिटो सेवा पाउनेछन् । व्यवसायीको आरान व्यवसायको उत्पादनमा वृद्धि हुनेछ र गाउँमा सीप रहिरहने विश्वास गरिएको गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्