तपाईँ सुन्दै हुनुहुन्छः

कृषकलाई हाते ट्र्याक्टर वितरण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ का कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्र्याक्टर (मिनिटेलर हलो) वितरण गरिएको हो । 

वडा कार्यालयको ‘कृषि प्रवद्र्धन’ वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ३८ कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको वडाध्यक्ष खिमबहादुर शाहीले जानकारी दिनुभयो । वडा कार्यालयले हाते ट्र्याक्टर माग गरेका कृषक र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर उपलब्ध गराएको वडाध्यक्ष शाहीले बताउनुभयो ।

“रु ४० हजार मूल्यका हाते ट्र्याक्टरमा कृषक र गाउँपालिकाले रु २०र२० हजारको दरले साझेदारी भएको छ, छिट्टै व्यावसायिक रुपमा तरकारी खेती गर्ने कृषकलाई प्लाष्टिक टनेलसमेत अनुदानमा वितरण गर्ने योजना बनाएका छौँ”, वडाध्यक्ष शाहीले भन्नुभयो । शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष शाही, वडा सदस्य जितबहादुर खत्री, आइती दर्जीलगायतले कृषकलाई हाते ट्र्याक्टर वितरण गर्नुभएको थियो ।

यस वर्ष कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत रु आठ लाख ५० हजार बजेटबाट ३८ जनालाई हाते ट्र्याक्टर र २५ जनालाई प्लाष्टिक टनेलमा ५० प्रतिशतको दरले अनुदान दिएको वडा कार्यालयले जनाएको छ । गाउँघरमा गोरु पाल्ने प्रचलन हराएर जान थालेको र खेतबारी जोत्न समस्या भएको अवस्थामा वडा कार्यालयले अनुदानमा हाते ट्र्याक्टर दिएपछि राहत भएको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका कृषक सुरतबहादुर चन्दले बताउनुभयो ।

“गोरु पाल्नै छाडे, हलो जुवा बनाउने सीप पनि हराएर जान थालेको छ, महिलाहरूले समेत जोत्न मिल्ने भएकाले हाते ट्र्याक्टर निकै उपयोगी उपकरण बनेको छ, हिउँदे र बर्खे दुवै खेती लगाउन हाते ट्र्याक्टरले समय र खर्चको समेत मितव्ययिता हुन्छ”, उहाँले भन्नुभयो । म्याग्दीमा पछिल्लो समय खेती किसानीको काममा परम्परागत रुपमा गोरुले खेतबारी जोत्ने प्रचलन हराएको छ भने हाते ट्र्याक्टरलगायतका यान्त्रिक उपकरणको प्रयोग बढ्दो छ । 

हाते ट्र्याक्टरले छोटो समयमा धेरै खेतबारी जोत्न सकिने भएकाले समयको बचत हुने र गोरु पाल्नुपर्ने झन्झट नहुने पिप्लेका युवा कृषक प्रकाश शर्माले बताउनुभयो । सडक सञ्जालको पहुँच विस्तार भएसँगै जिल्लाको ग्रामीण भेगमा खेतबारी जोत्ने काममा हाते ट्र्याक्टरको प्रयोग बढ्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button