तपाईँ सुन्दै हुनुहुन्छः

थ्रीफेज लाइन जडान नहुँदा अस्पतालको एक्सरे सञ्चालन हुन सकेन

दाङ । हापुरे प्राथमिक अस्पतालमा थ्रीफेज लाइन जडान नहुँदा एक्सरे सेवा सुरु हुन सकेको छैन । बबई गाउँपालिका ४ हापुरेमा रहेको अस्पतालमा जडान गरिएका डिजिटल एक्सरे मेसिन थ्रीफेज लाइन जडान नहुँदा एक्सरे सेवा सुरु हुन नसकेको हो ।

दैनिक १५–२० जनाभन्दा बढी बिरामी आउने अस्पतालमा एक्सरे गर्ने बिरामी पनि आउने गरेका छन् । समयमै थ्रीफेज लाइन जडान नहुँदा एक्सरे सेवा सञ्चालनमा आउन नसकेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका निमित्त प्रमुख माया बस्नेतले डिजिटल एक्सरे मेसिन चलाउने जनशक्ति समेत व्यवस्था गरिएको बताउनुभयो ।

समयमै विद्युत् जडान नभएपछि व्यवस्था गरिएको जनशक्तिले काम पाउन सकेका छैनन् भने बिरामीले समेत एक्सरे सेवा लिन पाएका छैनन् । हापुरे प्राथमिक अस्पताल प्रशासनले थ्रीफेज विद्युत् जडान गर्नका लागि बबई गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरलाई आग्रह गरेको थियो । अस्पतालको आग्रहलाई बेवास्ता गर्दा बिरामीले सेवा पाउनबाट बञ्चित भएका छन् ।

अस्पतालकी निमित्त प्रमुख बस्नेतका अनुसार अस्पतालमा ल्याब, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा नियमित स्वास्थ्य जाँच तथा औषधि वितरण गर्ने गरिएको छ । यसमध्ये भिडियो एक्सरे, डिजिटल एक्सरे सेवा दिन नसकिएको निमित्त प्रमुख बस्नेतको भनाई छ ।  

बबई गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको संयुक्त साझेदारीमा हापुरे प्राथमिक अस्पताल सञ्चालनमा आएको हो । डिजिटल एक्सरे सेवा सञ्चालनमा ल्याउन सके अस्पतालमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्ने अस्पताल प्रशासनले अपेक्षा गरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुर र  बबई गाउँपालिकाको आरोप÷प्रत्यारोपका कारण समयमै थ्रीफेज लाइन जडानमा बिलम्ब भएको जनाइएको छ ।

बबई गाउँपालिकाका प्रवक्ता तिलकराम भण्डारीले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुर र गाउँपालिकाबिच भएको समस्या समाधान हुने बताएको लामै समयसम्म पनि समाधान हुन नसकेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button