‘निर्यातमूलक कृषि उद्योगलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध’
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्यातमूलक कृषि उद्योगलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सूर्योदय मिल्स एण्ड बेभरेज उद्योग प्रालि विराटनगर–१४ द्वारा पहिलो पटक एक हजार दुई सय केजी परम घ्यु जापान निर्यात कार्यको आज शुभारम्भ गर्दै उहाँले कृषिको उत्पादन र उत्पादकत्व बढाउँदै आयातलाई प्रतिस्थापन गर्न प्रदेश सरकारले निर्यातमूलक उद्योगलाई अनुदान दिँदै आएको बताउनुभयो ।
मुख्यमन्त्री कार्की यस प्रदेशबाट जापान वार्षिक वार्षिक ५० टन घ्यु निर्यात हुने सम्झौता हुनु प्रदेशका लागि गौरवको कुरा भएको चर्चा गर्दै नेपाली उद्योगहरूले गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । विदेशीहरू सामानको गुणस्तरमा चनाखो र सचेत हुने गरेको गुणस्तरमा कुनै सम्झौता नगर्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले यस वर्षको नीति तथा कार्यक्रम र वेटमा मिल्क एण्ड बेभरेजलाई स्वदेशको बजार खपत वृद्धि तथा विदेशमा निर्यात गर्न उत्पादन लागत घटाउन विशेष सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशको परिचयको रुपमा रहेको घ्यु, चिया, मह र चिउरा उत्पादन र ब्राण्डिङ्ग गरी निर्यात प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोशी प्रदेशको चिनारीको रुपमा रहेको यस्ता कृषि उपजको निर्यातका लागि प्रदेश सरकारको सक्दो सहयोग रहने बताउनुभयो ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखराज दाहालले कोशी प्रदेशमा दूध उत्पादन वृद्धि भएका कारण तराइमा धुलो दूध, पहाडी क्षेत्रमा छुर्पी उत्पादन बेढको चर्चा गर्दै कृषि उद्योगलाई बढावा दिन मन्त्रालयले ध्यू, नौनी, धुलो दूध उत्पादनमा अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो ।
नेपाल डेरी एशोसिएशनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले उत्पादन लागत वृद्धिले डेरी उत्पादन निर्यातमा समस्या आएको बताउँदै मुलुकमा दैनिक ६२ लाख लिटर दूध उत्पादन भए पनि ३१ लाख लिटर दुधमात्र बजारमा बिक्रीका लागि जाने गरेको बताउनुभयो । उहाँले दैनिक ६ करोड रकम ग्रामीण क्षेत्रका दुग्ध कृषक प्राप्त गर्ने गरेको सो उद्योगबाट ४० हजारले प्रत्यक्ष रोजगारी पाएको जानकारी दिनुभयो ।
उद्योगका सञ्चालक मनोज यादवले जापानको पदमा कर्पोरेशन लिमिटेडसँग भएको सम्झौताअनुसार आज शुभारम्भ भएपछि पहिलो पटक एक हजार दुई सय केजी घ्यु, तीन हजार केजी चिउरा, एक हजार दुई सय केजी मह, तीन हजार केजी चियापत्ति गरी १० टन बराबरको कृषि उपज निर्यात गर्न लागेको जानकारी दिनुभयो ।
जापानको माग अनुसार प्रत्येक महिना पाँच टन घ्यु पठाउने उहाँले बताउनुभयो । सम्झौताअनुसार उद्योगले वार्षिक ५० मेट्रिक टन घ्यु पठाउने सम्झौता छ । त्यसका लागि उद्योग सक्षम रहेको यादवको भनाई छ । लोडिङ गरिएको घिउ सहितको उक्त समान कलकत्ता बन्दरगाह हुँदै सामुद्रिक मार्ग भएर जापान पुग्ने सो अवसरमा जानकारी गराइयो ।
विराटनगर १४ मा स्थापित उक्त डेरीले दैनिक धुलो दूध ३० हजार केजी, घ्यु दुई हजार केजी र दूध, दही, बटर दैनिक उत्पादन गर्दै आएको छ ।
कोशी प्रदेश सरकारले प्रदेशमा धुलो उत्पादनका लागि दुग्ध विकास आयोजना विराटनगरलाई पाँच करोड, सगरमाथा सहयोग दूध उत्पादन केन्द्र तरहरा सुनसरीलाई रु २० करोड र सूर्योदयलाई दुई करोड सहयोग उपलब्ध गराएको मन्त्रालयका सचिव लेखराज दाहालले जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्