बारा र पर्साका सीमा नाका दुई दिन बन्द

वीरगञ्ज । भारतमा हुन लागेको छैटौँ चरणको लोकसभाको निर्वाचनलाई लक्षित गर्दै बिहार राज्यको पश्चिमी चम्पारणसँग जोडिएको वीरगञ्जसहित बारा, पर्साका सीमा नाका आज बिहानदेखि २ दिनसम्म बन्द भएका छन् ।
विहार राज्यको पश्चिमी चम्पारणमा शनिबार हुन लागेको लोकसभाको निर्वाचनलाई लक्षित गर्दै मधेश प्रदेशसँग जोडिएका बारा, पर्सासहितका नाकाहरू ४८ घण्टासम्म बन्द रहेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय पर्सा र बाराले छुट्टा छुट्टै सूचना जारी गर्दै विहारसँग जोडिएका सीमा नाकाहरू बन्द रहने जनाएका छन् ।
निर्वाचन शान्तिपूर्ण र भयरहित ढंगले सम्पन्न गर्नका लागि नेपाल–भारतका सुरक्षा अधिकारीहरू बीच गत फागुन ५ गते सम्पन्न संयुक्त सुरक्षा बैठकले विहारसँग सीमा जोडिएका नाकाहरू ४८ घण्टा बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम पर्सा, बारासहित विहारको पश्चिमी चम्पारणसँग जोडिएका सीमा नाकाहरू बन्द गरिएको प्रजिअ भुसालले बताउनुभयो ।
त्यस्तै बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले भारतीय समकक्षी प्रशासकले गरेको पत्राचार अनुसार आज बिहान ६ बजेदेखि जेठ १२ गते बेलुकी ६ सम्मको लागि सीमा नाका बन्द गरिएको जानकारी दिनुभयो ।
भारतको लोकसभा चुनावको लागि बारामा ६२ किमीको खुला सीमा नाका ४८ घण्टाका लागि बन्द गरिएको छ भने पर्सामा १ सय ७ किलोमिटर लामो नाका समेत बन्द रहेको छ ।
सीमा नाका बन्द भएसँगै देशकै प्रमुख नाका वीरगञ्ज सुनसान भएको छ ।







प्रतिक्रिया राख्नुहोस्