तपाईँ सुन्दै हुनुहुन्छः

बुद्ध जयन्तीले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबैलाई प्रेरित गरोस् : सभामुख घिमिरे 

काठमाडौं । सभामुख देवराज घिमिरले २५६८ औं बुद्ध जयन्तीको अवसरमा देश,विदेशमा बस्ने नेपाली बौद्ध धर्मावलम्बीहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

एक शुभकामना सन्देश जारी गर्नुहुँदै सभामुख घिमिरेले बुद्ध जयन्तीले मुलुकमा शान्ति, राष्ट्रिय एकता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना व्यक्त गर्नुभएको हो ।

सन्देशमा सभामुख घिमिरेले बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण दिन भएको उल्लेख गर्नुभएको छ ।
सन्देशको पूर्णपाठ :

बुद्ध जयन्तीको शुभकामना
२५६८ औं बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा बस्ने नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । बुद्ध जयन्तीले मुलुकमा शान्ति, राष्ट्रिय एकता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना पनि गर्दछु ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप बुद्ध जयन्ती मनाउने गरिएको छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

ई. पूर्व ५६३ मा नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्ध अन्तर्राष्ट्रिय व्यक्तित्व र नेपालका राष्ट्रिय विभूति हुन् । बुद्धलाई हिन्दूहरूले भगवान् विष्णुको अवतार र बुद्ध धर्मका संस्थापक मान्ने गर्दछन् ।

बुद्धको जन्म, वंश त्याग र उपदेशको विश्वभर नै चर्चा हुने गर्दछ । कठोरताबाट नभई जीवन र लक्ष्यका बीच सन्तुलनको मध्य मार्ग अपनाएर सफलता प्राप्त हुने व्यावहारिक निष्कर्षको अवलम्बनबाट बुद्धले शान्तिको मार्ग पहिल्याएका थिए । नेपालको सन्दर्भमा आज पनि बुद्धका उपदेशहरू प्रासंगिक रहेका छन् । “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” जस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जन्मस्थानको प्रचार प्रसार गर्न सके मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग हुने विश्वास लिएको छु ।

बुद्ध जयन्तीको अवसरमा पुनः शुभकामना हार्दिक शुभकामना व्यक्त गर्दछु ।
१० जेठ, २०८१ । नेपाल संवत् ११४४ बछलाथ्वः १५, बिहीबार

देवराज घिमिरे

प्रतिक्रिया राख्नुहोस्

Back to top button