रेडियो नेपाल समाचार प्रभाव : बाजुरामा करिब एक महिनापछि पुग्यो नुन

बाजुरा । नुनको चरम अभाव रहेको बाजुरामा करिब एक महिनापछि ५० क्विन्टल नुन पुगेको छ।
रेडियो नेपालले जेठ ४ गते बाजुरामा नुनको चरम अभाव शीर्षकमा समाचार र जेठ ६ गते रिपोर्ट प्रसारण गरेको केही दिनमै बाजुरामा नुन आइपुगेको हो।

नेपाल सरकारद्वारा सहुलियत दरमा बिक्री वितरण हुँदै आएको भानु आयोडिन नुन सदरमुकाम मार्तडी लगायतका डिपो तथा बिक्री केन्द्रमा नहुँदा स्थानीयले सास्ती बेहोर्नु परेको थियो।

बाजुराका लागि निर्धारण गरिएको अनुदान कोटा अनुसारकै ५० क्विन्टल नुन आज जिल्लामा पुगेर आज स्थानीयलाई बिक्री वितरण गरिएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डिपो कार्यालय बाजुराका प्रमुख टेक बहादुर बोहोराले बताउनुभयो । उहाँका अनुसार अब थप माग गरिएको कोटा अनुसारको नुन पनि २÷४ दिनमै आइपुग्नेछ।

थप कोटा नुन आउने बित्तिकै जिल्लाभरिका सबै नुन डिपो तथा बिक्री केन्द्र मार्फत स्थानीयलाई चाहिए जति मात्रामा बिक्री वितरण थालिने छ । बिहीबार आइपुगेको ५०क्विन्टल नुन मार्तडी डिपो केन्द्र मार्फत आजै बिक्री वितरण थालिएको हो।
ढिलै भए पनि जिल्लामा नुन पुगेर बिक्री वितरण हुन थालेपछि स्थानीय नागरिक निकै उत्साहित देखिएका छन्। बाजुरामा भानु आयोडिन नुन प्रति प्याकेट ९ रुपैयाँमा बिक्री वितरण हुँदै आएको छ।








प्रतिक्रिया राख्नुहोस्