वरिष्ठ पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान

काठमाडौँ । निजी क्षेत्रबाट सञ्चालित व्यावसायिक पत्रकारिता प्रशिक्षण संस्था ‘मिडिया प्वाइन्ट’ले वरिष्ठ आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान–२०८१’ प्रदान गरेको छ ।
मिडिया प्वाइन्टको २८औँ वार्षिकोत्सवका अवसरमा टक्सार मासिक पत्रिकाका प्रधान सम्पादक रहेका बुढाथोकीलाई रु १५ हजार पाँच सय ५५ राशिसहित सो सम्मान प्रदान गरिएको हो ।
मिडिया प्वाइन्टका संस्थापक एवम् राष्ट्रिय समाचार समिति (रासस)का पूर्व महाप्रबन्धक, अर्का संस्थापक अर्जुन बिष्ट वरिष्ठ पत्रकार बुढाथोकीको निवास कपनमै पुगेर आज सो सम्मान प्रदान गर्नुभयो ।
मिडिया प्वाइन्टको पहिलो समूहका प्रशिक्षार्थी एवम् वरिष्ठ पत्रकार बलराम प्यासीको संयोजनमा भएको सम्मान प्रदान कार्यक्रममा पहिलो समूहका पत्रकारहरू इशुजङ्ग कार्की, किशोर बस्नेत, शिवभक्त सैँजु पनि सहभागिता रहेको थियो ।
राष्ट्रिय पत्रकारिता पुरस्कारलगायत स्वदेशी तथा विदेशी विभिन्न पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेका वरिष्ठ पत्रकार बुढाथोकीले नेपाल समाचारपत्र दैनिक, राजधानी दैनिकलगायत पत्रिकाहरूमा झन्डै तीन दशक पत्रकारिता गरिसकेका छन् ।
२०६५ साल असोज १० गते मोटरसाइकल दुर्घटनामा घाइते भएदेखि उनी ह्विलचियरमै बसेर अहिले पनि सक्रिय पत्रकारिता गर्दै आएका छन् । २०५३ जेठ गतेदेखि पत्रकारिता कक्षा सुरुआत गरेको मिडिया प्वाइन्टले सो दिनलाई वार्षिकोत्सवका रूपमा मनाउँदै आएको छ ।
यसअघि, लगातार पाँच वर्षसम्म क्रियाशील पत्रकारलाई रु पाँच हजार पाँच सय ५५ राशिको मिडिया प्वाइन्ट पत्रकारिता पुरस्कार दिने गरिएता पनि विगत केही वर्षको अन्तरालपछि पहिलोपटक वरिष्ठ पत्रकार बुढाथोकीलाई सो सम्मान गरिएको हो ।






प्रतिक्रिया राख्नुहोस्