तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसद्वारा संसदीय छानबिन समिति गठनको माग यथावत्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम राखेको छ  ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज बिहान बसेको काँग्रेस संसदीय दलको बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले  बताउनुभयो ।

प्रमुख सचेतक लेखकले लाखौँ नेपाली नागरिकको अर्बौँ रकम हिनामिना भएकोले बचतकर्ताको बचतको सुरक्षा ग्यारेन्टी गर्ने र ठगी गर्ने विषयलाई छानबिन र संलग्नमाथि कारबाही गर्ने विषय थप पुष्टि हुँदै गएको बताउनुभयो ।

सरकार सहकारी प्रकरण छानबिन गरी दोषीलाई कारबाही गर्नुको सट्टा ठगीमा संलग्नलाई बचाउने काममा लागेको कांग्रेसको आरोप छ  ।

यस्तै काँग्रेसले प्रमुख प्रतिपक्षीले माग राखेर नाराबाजी गर्दा र विपक्षी दलहरू उभिएको अवस्थामा पनि सदन बैठक सञ्चालन गर्ने कुरा उचित नभएको भन्दै  सभामुखको भूमिका निष्पक्ष नभएको आरोप लगाएको छ ।

आजको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवासहित सदनमा विपक्षमा रहेका दलका नेताहरूसँग छलफल गरी सदनमा उपस्थित हुने र संसदीय छानबिन समिति गठनको विषय उठान गर्ने पनि प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button